दश महिनामै चिरा !

दश महिनामै चिरा !



गत वैशाखमा रहश्यमयी किसिमबाट रातारात एकीकरण गराइएको मधेशकेन्द्रीत समूहमा गहिरो चिरा परेको देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीलाई एकीकृत गराएर मध्येरातमा जनता समाजवादी पार्टी अस्तित्वमा ल्याइएको थियो । वामपन्थी कम्युनिष्ट पृष्ठभूमिका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई र बाबुराम भट्टराई नेतृत्वको ससफो र महन्थ ठाकुर, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिल झा र राजेन्द्र महतो जस्ता प्रजातान्त्रिक पृष्ठभूमिका व्यक्तिहरू सम्बद्ध राजपाको एकीकरणलाई स्वभाविक र प्राकृतिक मानिएको थिएन । एकीकरणको दशौँ महिना नबित्दै उक्त पार्टीमा चिरा परेको छ ।

माघ १७ गते जनकपुरमा आयोजित एक समारोहमा उपेन्द्र यादव तथा बाबुराम भट्टराईलगायतलाई जानकारीसमेत नदिई ‘राजपासम्बद्ध’ नेताहरू मात्र उपस्थित भएपछि उक्त दलमा चिरा परेको देखिएको हो । माघ १७ गते जनकपुरमा पार्टीसम्वद्ध राष्ट्रिय इञ्जिनियर सङ्घको भेला थियाो र, भेलामा करिव एक हजार इञ्जिनियरहरूको सहभागिता थियो । भेलामा ‘राजपा’ नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव, राजेन्द्र महतो र अनिलकुमार झा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । तर उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको थिएन ।

भेलालाई सम्बोधन गर्दै ‘राजपा’का सबै नेताहरूले शुभकामना दिएका थिए । इञ्जिनियरहरूको भेला भएकोले आफू र हिसिलालाई आमन्त्रण मिल्ने आशा बाबुरामले राखेको, तर दुवैजनालाई निम्तासमेत नमिलेपछि भट्टराई दम्पत्ति दुःखी बनेको बुझिएको छ । यस घटनाले जसपाको एकीकृत भविष्य धेरै लामो नरहने सङ्केत दिएको छ ।