नेकपा जुलुस शुरु, नारायणहिटी दरबारअगाडि पुगी सभामा परिणत हुँदै

नेकपा जुलुस शुरु, नारायणहिटी दरबारअगाडि पुगी सभामा परिणत हुँदै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत् सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ ।

ती जुलुस सभास्थल नारायणहिटी दरबारअगाडि गएर सभामा परिणत हुँदै छन् ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ ।

पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताए। सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्ने पूर्वजानकारी दिइएको छ ।

पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जानका लागि आह्वान गर्न र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको जानकारी प्रदेश अध्यक्ष पोखरेलले दिएका छन् । प्रदेश कमिटीले सभा सम्पन्न गर्नका लागि बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको ऱ्याली गरेको थियो ।