‘कुन मूल पार्टी हो, जनसभाले टुंगो लगायो’ : केपी ओली

‘कुन मूल पार्टी हो, जनसभाले टुंगो लगायो’ : केपी ओली


प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपाले शुक्रबार दरबारमार्गमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण रहेको, अब अशान्तिको भुमरीमा जान नसक्ने र नरभक्षी आन्दोलनका दिन सकिएको अभिव्यक्ति दिए ।

प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरे । अस्थीरताको राजनीतितर्फ नभइ अब चुनावतर्फ जानुपर्ने जिकिर गर्दै उनले कसको सरकार बन्ने भन्ने कुरा चुनावले फैसला गर्ने बताए ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्की दिएको आरोप लगाउँदै उनीहरुको जस्तो आफूले कसैलाई पनि धम्की नदिएको र नदिने बताए । हाम्रा देशका निकायहरु स्वतन्त्र छन् र विवेकसम्मत निर्णय गर्न चाहन्छन् भन्ने उनको भनाइ थियो ।

प्रचण्ड–नेपाल समूहले निर्वाचन रोक्न दबाब दिएको खुलासाा गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कर्के आँखा नलगाउन प्रचण्ड–नेपाल समूहलाई चेतावनी दिए । निर्वाचन गर्दा देश संकटमा पर्छ ? भन्ने प्रश्न गर्दै उनले देशलाई संकटमा पर्न दिन नहुने तर्क गरे ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार छ, काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ भन्दै उनले आफ्नो कदमको बचाउ गरे र नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे ।

सार्वभौमसत्ता तथा स्वाधीनताको रक्षा गर्दै ठीक ढंगले प्रयोग गर्ने पार्टी नेकपा भएको दाबी गर्दै उनले लोकतन्त्रका लागि सात दशक संघर्ष गरेर आएको नेकपा नै देशको मूल पार्टी भएको बताए । आजको जनसभाले कुन मूल पार्टी हो भन्ने पनि टुंगो लगाएको उनको दाबी थियो ।