प्रदर्शनमा सहभागीलाई सभापति देउवाद्वारा धन्यवाद

प्रदर्शनमा सहभागीलाई सभापति देउवाद्वारा धन्यवाद



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीहरूलाई धन्यवाद दिनुभएको छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा बधाइ ज्ञापन गर्नुभएको छ । साथै उहाँले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुऱ्याउनु हुने सञ्चारकर्मीमा पनि धन्यवाद ज्ञापन गर्दै पूर्वघोषणा अनुरुप आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिलसमेत गर्नुभएको छ ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आइरहेको छ । पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा आज आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ । प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।’

नेपाली काङ्ग्रेससम्बद्ध नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल साँस्कृतिक सङ्घ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल, र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक सङ्घले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।