प्रधानमन्त्री ओली पोखरामा, भवन शिलान्यास र रङ्गशालाको निरीक्षण कार्यक्रम

प्रधानमन्त्री ओली पोखरामा, भवन शिलान्यास र रङ्गशालाको निरीक्षण कार्यक्रम



प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा पुग्नुभएको छ । यती एयरलाइन्सको विमानबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहनुभएका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास सिलवालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्माण भएको खेल पूर्वाधार देखाउने छौँ, पूर्वाधारका लागि बजेट सुनिश्चितका लागि आग्रह गर्नेछौँ । प्रमको भ्रमणले पोखरालाई खेलकूद पर्यटनको शहरका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश गुरुङले बताउनुभयो । यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

राखेप सदस्य गुरुङका अनुसार यसअघि तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित समयमा आयोजना हुन नसकेकामा अब नयाँ मिति घोषणाका लागि प्रधानमन्त्रीको रङ्गशाला आगमनले सहज हुनेछ ।