प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लियो, दुई जना घाइते

प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लियो, दुई जना घाइते


सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले लहानस्थित अस्पताल चोकमा गोली चलाएर पाँच जना भारतीय र दुई जना नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रहरीले चलाएको गोली लागेर सप्तरीको रूपनी-१ निवासी ४२ वर्षीय मो. नसिर र भारतको विहार राज्य जिल्ला मधुवनी थाना लदनियाँ निवासी २४ वर्षीय विद्यानन्द यादव घाइते भएका छन् । घाइते दुवैको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा आएको ६ जनालाई रोकी जाँच गर्दा सोही क्रममा भाग्न खोज्दा प्रहरी टोलीले सात राउण्ड गोली चलाएको प्रहरी नायब उपरीक्षक पालको भनाइ छ ।

सो क्रममा सप्तरीको बोदेबर्साइन नगरपालिका-२ निवासी २८ वर्षीय शम्भुप्रसाद यादव, सोही ठाउँका २४ वर्षीय वैधनाथप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ निवासी २८ वर्षीय मो जामाहिर आलम र सोही ठाउँका ३२ वर्षीय मो इमामुदिनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पालले बताए ।

पक्राउ परेकाहरूका साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।