देउवालाई रोक्न कोइरालाहरूको कसरत

देउवालाई रोक्न कोइरालाहरूको कसरत



सत्ता राजनीतिमा काङ्ग्रेसको भूमिका निर्णायक हुने भएपछि काङ्ग्रेसकै एकथरी नेताहरूमा नराम्रोसँग छटपटी बढेको पाइएको छ । काङ्ग्रेसले चाहेमा अब कुनै पनि बेला सरकारको नेतृत्व पाउने स्थिति उत्पन्न भएको छ र, काङ्ग्रेस संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवा नै अबको प्रधानमन्त्री पदका मूख्य हकदारका रूपमा देखापर्नुभएको छ ।

काङ्ग्रेसलाई प्रजातान्त्रिक पार्टी मानिए पनि उक्त पार्टीमा सभापतिको निर्णय नै अन्तिम हुने परम्परा बसेको हुनाले देउवाले चाहनेबित्तिकै उहाँ प्रधानमन्त्री बन्ने स्थिति छ । तर काङ्ग्रेसको देउवाविरोधी पक्ष भने कतै देउवा प्रधानमन्त्री बनिहाल्ने पो हुन् कि भन्ने चिन्ताले छटपटिएका छन् । ज्ञातव्य छ, नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन आगामी भाद्रमा सम्पन्न गर्ने निधो भएको छ र, त्यसनिम्ति क्षेत्रिय र जिल्ला अधिवेशनहरू असारदेखि नै शुरु हुनेछ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अवस्थामा त्यसको प्रभाव पार्टीका नेता तथा कार्यकर्तामा पर्न सक्ने र, महाधिवेशनमा अर्को कार्यकालको सभापति बन्ने अवसरसमेत देउवालाई नै प्राप्त हुने कुराले कोइराला पक्षलाई ज्यादा चिन्तित बनाएको छ । त्यसैले उनीहरूले काङ्ग्रेस अहिले सत्तामा जानै नहुने तर्क गरिरहेका छन् । खासगरी कृष्ण सिटौला, रामचन्द्र पौडेल, डा. शेखर कोइराला र गगन थापाहरू काङ्ग्रेस सत्तामा जान नहुने भन्दैछन् ।

उल्लिखित चार जना काङ्ग्रेसको आगामी महाधिवेशनबाट सभापति, उपसभापति र महामन्त्री बन्ने योजनाका साथ क्रियाशील हुँदै आएका छन् । कदाचित देउवा प्रधानमन्त्री बनेमा आफूहरूले पार्टीको सत्ता प्राप्त गर्न नसक्ने उनीहरूको ठम्याइ छ । त्यसैले सकेम्म काङ्ग्रेसलाई सत्तामा जानबाट रोक्ने र रोक्न नसकेको अवस्थामा डा. शशाङ्क कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने अडानका साथ कोइराला पक्ष प्रस्तुत हुने रणनीतिमा रहेको बुझिएको छ ।

पार्टी सभापतिको दाबी गर्दै रहेका शशाङ्कलाई प्रधानमन्त्री बनाइदिएको अवस्थामा देउवाको प्रभाव कमजोर हुने र शशाङ्कले सभापति पदमा दाबी नगर्ने विश्वास रामचन्द्र पौडेल र शेखर कोइरालाको भएको बुझिन्छ । कदाचित देउवा सत्ता गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयासमा लाग्नुभयो भने संसदीय दलमा देउवाका विरुद्ध अविश्वासको प्रस्ताव पारित गरी शशाङ्कलाई दलको नेता बनाउने मानसिकता कोइराला पक्षले बनाएको बुझिएको छ ।

कोइराला पक्षको यस्तो रणनीतिप्रति देउवा सचेत रहेको बुझिन्छ । त्यसैले आफू प्रधानमन्त्री बन्न तत्काल कुनै प्रत्यक्ष पहल नगर्ने, बरु केपी ओलीसँगको आन्तरिक समझदारी कायम राख्दै आफ्नो स्थिति सूरक्षित तुल्याइराख्ने कार्यनीति देउवाले बनाउनुभएको छ । काङ्ग्रेस संसदीय दलमा (प्रतिनिधिसभाका) कुल ६२ सांसदमध्ये एक निलम्बित छन् । ६१ सांसदमध्ये बहुमत देउवाको विपक्षमा रहेको दाबी कोइराला पक्षको छ । आगामी महाधिवेशनसम्म देउवालाई हलचल गर्न नदिने र, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेपछि मात्र सरकार बदल्ने खेलमा सामेल हुने सोच कोइराला पक्षले बनाएको छ ।

यो बेग्लै पक्ष हो कि आफूबाहेक अरु कसैलाई काङ्ग्रेसबाट प्रधानमन्त्री बनाउन देउवा तयार हुनुहुन्न । काङ्ग्रेसभित्रको यस्तै अन्तरद्वन्द्वका कारणले पनि तत्काल केपीलाई पदमुमक्त गर्ने प्रचण्ड–बाबुरामको सपना पूरा हुन सक्ने सम्भावना टाढिएको छ । कोइराला पक्षले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक लगाउनुको राजनीतिक लाभ तत्कालका निम्ति केपी ओलीलाई पुग्ने देखिन्छ । काङ्ग्रेस सरकार बदल्न तयार नभएसम्म केपी सरकारले नै निरन्तरता पाउने निश्चित भएको छ ।