पुनः संसद् विघटनको पृष्ठभूमि बन्दै

पुनः संसद् विघटनको पृष्ठभूमि बन्दै



अब कसको नेतृत्वमा कस्तो प्रकारको सरकार गठन हुन सक्ला र, केपी शर्मा ओली नेतृत्वको सरकारले कहिलेसम्म निरन्तरता प्राप्त गर्ला भन्ने प्रश्नमा आमनागरिकको समेत चासो बढेको पाइएको छ ।

सत्ता-सङ्घर्षले चरम रूप लिएपछि संसद् विघटनसम्म (पुस ५ गते) पुगेको राजनीतिले संसद् पुनःस्थापना (फागुन ११) पछि नयाँ मोड लिएको र, अब तत्कालै सरकार पनि परिवर्तन हुने विश्वास गरिएको थियो । तर, परिस्थिति अनुमान गरिएझैँ अगाडि बढेन । संसद् पुनःस्थापना भए पनि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएन र, उहाँलाई पदमुक्त गर्न पनि अर्को पक्षलाई मुस्किल पऱ्यो, परिरहेको छ । संसद् पुनःस्थापनापछि नेकपाको संसदीय दलमा बहुमत पुऱ्याएर दलको नेता पदबाट हटाउने र प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्याउने खेल एकतिर चलिरहेको थियो भने अर्कोतिर माधव-प्रचण्ड पक्षले काङ्ग्रेस र क्षेत्रियतावादी समूहसँग गठबन्धन बनाएर संसदमा केपीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य पनि गरिरहेको थियो । प्रचण्ड पक्षलाई पहिलो धक्का त्यतिबेला लाग्यो, जब प्रधानमन्त्री बन्न शेरबहादुर देउवालाई गरिएको प्रस्ताव सहजै स्वीकार भएन । देउवालाई प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार बनाएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड-माधवको प्रस्तावमा काङ्ग्रेसले पार्टी स्पष्ट (विभाजन) नभइकन गठबन्धन हुन नसक्ने जवाफ फर्काइदियो ।

यसका बाबजुद काङ्ग्रेस र क्षेत्रियतावादी समूहसँग गठबन्धन बनाएर जाने प्रयास जारी थियो । फागुन २३ गते आइतबार सर्वोच्च अदालतबाट भएको एउटा फैसलापछि सत्तापक्षको स्थिति र देशको राजनीतिमा त्यसले पारेको प्रभावका कारण परिस्थिति प्रचण्ड र माधव नेपालले चाहेको भन्दा भिन्न ठाउँमा पुग्यो । पार्टीको स्वामित्वसम्बन्धी विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले पार्टी (नेकपा)को स्वामित्व सम्बन्धित व्यक्ति (ऋषि कट्टेल) लाई नै दिने निर्णय दिएसँगै दुई कम्युनिष्ट पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) पूर्ववत अवस्थामा पुगे । संसद् पुनःस्थापनाको निर्णयले प्रचण्ड पक्षलाई अनुकुल स्थितिमा ल्याइपुऱ्याएको थियो भने पार्टीको स्वामित्वसम्बन्धी मुद्दामा भएको फैसलाले केपी ओलीलाई सजिलो बनाइदियो ।

माओवादीमा रहँदा सांसद पदबाट मुक्त हुनुपर्ने र मुद्दा-मामिला समेत झेल्नुपर्ने अवस्था देखिएपछि माधव नेपाल र उहाँको टोली प्रचण्डलाई छोडेर एमालेमै फर्कने निर्णयमा पुग्यो । तर फागुन २८ गते बसेको एमाले केन्द्रीय समितिको बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदहरू खारेज गर्दै सात प्रदेशका जिम्मेवारी हेरफेर गरेपछि माधव पक्ष पुनः सङ्कटमा परेको छ । उनीहरू एमाले छोडेर बाहिरिने राजनीतिक एवम् कानूनी हैसियतमा छैनन् र, एमालेमै रहन पनि उक्त पक्षलाई मुस्किल पर्दैछ ।

फागुन २३ को न्यायिक निर्णयपश्चात प्रचण्ड र माधव नेपाल सल्लाह गरेर नै अलग भएका हुन् । एमालेमा गएर केपी ओलीसँग सङ्घर्ष गर्ने र पुनः पार्टी एकीकरणका निम्ति वातावरण बनाउने सहमतिका साथ माधव पक्ष एमालेमा फर्किएको थियो । अब अपमान र पीडा सहेर भए पनि एमालेमै रहने या सांसद पद परित्याग गरेर माओवादी पक्षसँग पुनः एकीकृत भएर जाने भन्ने दुईमध्ये एक मात्र विकल्प माधव पक्षसँग रहेको छ । माओवादी, काङ्ग्रेस र क्षेत्रियतावादी समूहबीच गठबन्धन बनाएर केपीलाई सत्ताच्यूत गर्न प्रचण्ड सफल भएमा त्यसको लाभ माधव नेपाल पक्षलाई हुन सक्नेछ ।

केपीलाई सत्ताच्यूत गर्न सकेमा एमालेभित्र माधव पक्षको शक्ति बढ्ने र माधव पक्ष बलियो भएमा पुनः पार्टी एकीकरण गर्न सकिने विश्वासमा प्रचण्ड र माधव पक्ष रहेको बुझिन्छ । प्रचण्डसँगको निकटताकै कारण केपी ओली माधवमाथि विश्वास गर्न सङ्कोच मान्दै हुनुहुन्छ । प्रचण्डले अविश्वासको प्रस्ताव ल्याए या आफैं विश्वासको मत लिनुपर्ने अवस्था आएमा माधव पक्षका सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने आशङ्का केपीमा रहेको बताइन्छ । केही साताअघिसम्मको द्विपक्षीय वाक युद्धलाई मात्र दृष्टिगत गरियो भने पनि अब तत्काल दुई पक्षबीच विश्वास र सद्भावको सम्बन्ध बन्न सम्भव देखिँदैन ।

यतिबेला राजनीति र नेकपा एमालेमा केपी ओली विजयी बन्नुभएको छ । माधव पक्ष केपीको यो विजयको आयु छोट्याउन चाहन्छ । एमालेले आगामी मङ्सिर २ देखि ६ गते (२०७८) सम्म पार्टीको दशौँ महाधिवेशन गर्न मिति तोकिसकेको छ र अब उक्त निर्णय बदल्न केपी तयार देखिनुहुन्न, न जिम्मेवारी फेरबदलको निर्णयलाई बदल्न नै उहाँ सहमत हुने स्थिति छ । केपीले गराउने आगामी महाधिवेशनबाट केपीले चाहेका बाहेक अरु कसैले केन्द्रीय पदाधिकारी या सदस्यमा विजय हासिल गर्न सक्ने सम्भावना पनि कमै रहेको हुँदा माधव नेपाल पक्षले केपीविरुद्ध कुनै पनि अप्रत्याशित र अनपेक्षित निर्णय लियो भने आश्चर्य मान्नुपर्ने हुँदैन ।

संसदमा ‘फ्लोर क्रस’ गरेर केपीविरुद्ध मतदान गर्ने, छुट्टै नयाँ दल दर्ता गरेर माओवादी पक्षसँग पार्टी एकता गर्ने या यस्तै स्तरका कुनै निर्णयमा माधव पक्ष पुग्न सक्ने देखिन्छ । माओवादीले आफ्नो दलको चुनाव चिन्ह लिएर विजयी बनेका सांसदहरूको पद खारेज गर्ने प्रक्रिया पूरा गरेपछि पनि केपीविरुद्ध अविश्वासको प्रस्तावका निम्ति कसरत जारी राख्ने स्थिति छ । कदाचित माओवादीलाई यस्तो सफलता नमिल्ने विश्वास भएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र केपीलाई विश्वासको मत लिन बाध्य तुल्याउँदै पदमुक्त गराउने प्रयास माओवादीबाट हुने निश्चित छ ।

विश्वासको मत लिनबाट पन्छिन मिल्ने वैधानिक अवस्था नभएकोले माओवादीका तर्फबाट समर्थन फिर्ता लिएको ३० दिनभित्रै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस अवस्थामा केपीबाट आफ्नो पक्षमा बहुमत जुटाउन अनेक प्रयास हुन सक्छ । काङ्ग्रेस र क्षेत्रियतावादी समूहसँग विशेष सहमति बन्न सकेन भने केपीलाई विश्वासको मत प्राप्त नहुने निश्चित छ । त्यस्तो अवस्थामा केपीले पदबाट राजीनामा दिने सम्भावना नभएको होइन, तर त्यसभन्दा बढी सम्भावना उहाँले पुनः संसद् विघटन गराउन सक्ने देखिन्छ । अब फेरि संसद् विघटन गरियो भने आम जनतासमेत त्यसको समर्थनमा जान सक्ने पृष्ठभूमि बनिरहेको छ ।