कसको नेतृत्वमा सरकार ?

कसको नेतृत्वमा सरकार ?



सत्तारुढ दल नेकपा एमाले र माओवादी बीचको एकता भङ्ग भएपछि अब कसको नेतृत्वमा सरकार गठन होला भन्ने विषयमा जिज्ञाशा उत्पन्न भएको छ । प्रधानमन्त्री पदमा निरन्तरता प्राप्त गर्न केपी शर्मा ओली स्वयम् प्रयासरत हुनुहुन्छ भने प्रचण्ड र माधव नेपालको प्रधानमन्त्री बन्ने सपना तत्कालका लागि तुहिएको छ । बरु भुरे-टाकुरे दलका नेताहरूको नाम सम्भावित प्रधानमन्त्रीका रूपमा लिन थालिएको छ । तर अब कस्तो प्रकारको राजनीतिक समिकरण बन्न सक्छ भन्ने कुराको यकीन नभइकन भावी सरकारको नेतृत्व कसको हुने भन्न सकिने स्थिति छैन ।

यतिबेला काङ्ग्रेसका शेरबहादुर देउवाको माग सबैभन्दा बढेकोे छ । क्षेत्रियतावादी दल र माओवादीसँग गठबन्धन बन्न सक्यो भने उक्त गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा बन्न सक्नुहुनेछ । देउवा माओवादी या क्षेत्रियतावादी दललाई सरकारको नेतृत्व सुम्पिएर गठबन्धनमा सामेल हुने पक्षमा नभएकोले त्रिपक्षीय सहमति भएमा देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको हो ।

एकथरी बामपन्थी कम्युनिष्टहरू नेकपा एमाले र माओवादी गठबन्धनको सरकार बनाउनका निम्ति क्रियाशील भइरहेको पनि पाइएको छ । एमाले र माओवादीको दोस्रो र तेस्रो पुस्ताका नेताहरू यसरी बाम गठबन्धनको सरकार निर्माणका पक्षमा क्रियाशील भएका हुन् । यदि उनीहरूलाई यस्तो सफलता मिल्यो भने सरकारको नेतृत्व केपी शर्मा ओलीले नै गरिरहने निश्चित छ ।

यसबीचमा सजपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग पनि प्रधानमन्त्रीको विशेष वार्तालाप भएको छ । जसपाको बामपन्थी कित्ताका नेताहरू उपेन्द्र यादव, आङ्काजी शेर्पा, राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराई केपी ओलीसँग कुनै पनि प्रकारको सहमति र सहकार्य नगर्न कटिबद्ध देखिएका छन् । त्यसैले सिङ्गो जसपा र केपीबीच गठबन्धन बन्ने सम्भावना न्यून छ । तर पूर्व राजपा पक्षसँग सहकार्यको सम्भावनालाई भने इन्कार गर्न सकिँदैन । माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ नगर्ने स्थितिमा पूर्व राजपा र केपीबीच गठबन्धन भएमा केपीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने सम्भावना जति छ, त्यति नै सम्भावना महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर एमाले ‘राजपा’को संयुक्त सरकार बन्ने सम्भावना पनि छ । त्यसैले पछिल्लो समयमा महन्थ ठाकुरको नामसमेत सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा आउन थालेको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा काङ्ग्रेसको डा. शशाङ्क कोइरालाको पनि नाम चर्चामा आएको हो, तर त्यस्तो सम्भावना अत्यन्त न्यून मात्र छ ।

केपी र शेरबहादुर देउवाबीच सहमति बनेको अवस्थामा केपीलाई नै प्रधानमन्त्री राखेर ‘अर्लि इलेक्सन’मा जान सक्ने एउटा सम्भावना देखिएको छ भने देउवा नेतृत्वमा गठबन्धन सरकार बनाएर निकास खोजिने सम्भावना पनि प्रबल छ । खास अवस्थामा देउवा (काङ्ग्रेस) लाई एक्लै सरकार चलाउन समर्थन दिएर केपी प्रमुख विपक्षी नेताको भूमिकामा सरे भने पनि कुनै आश्चर्य हुने छैन । उता जसपामा माओवादी कित्ताका नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्रीमा दोहोरिने मौकाको ताकमा छन् । मूख्य दलहरू बीच सहमति बन्न नसक्दा विदेशीको समेत सहयोगमा प्रधानमन्त्री बन्ने सपना बाबुराममा रहेको पाइएको छ । तर सहज स्थितिमा उनलाई यस्तो मौका मिल्ने देखिएको छैन ।

हालसम्मको स्थितिले तीन वटा सम्भावना बढी देखाएको छ । माओवादी, काङ्ग्रेस र क्षेत्रियतावादीबीचको गठबन्धन हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्ने, केपी र देउवाबीच सहमति भएको अवस्थामा पनि देउवा नै प्रधानमन्त्री बन्ने तथा एमाले र माओवादीबीच गठबन्धन बनेको स्थितिमा भने सरकारको नेतृत्व यथावत केपीमा रहने देखिन्छ । त्यसो त जसपा विभाजित भएर एमाले-राजपा गठबन्धन सरकार बन्यो भने त्यस अवस्थामा पनि केपीकै नेतृत्वले निरन्तरता पाउने र विशेष स्थितिमा मात्र महन्थलाई सरकारको नेतृत्व गर्न अवसर प्राप्त हुने सम्भावना छ । तर दलहरूबीच सहमति बन्न नसक्ने, केपीले पदबाट राजीनामा नदिने, केपीलाई पदबाट हटाउन नसकिने र सरकारलाई सहज ढङ्गले काम गर्न पनि नदिइने अवस्थामा भने फेरि पनि संसद् विघटन गरेर प्रधानमन्त्री ओली ताजा जनादेशका निम्ति निर्वाचनमा जाने निर्णयमा पुगे भने कुनै आश्चर्य हुने छैन ।