माधव नेपालको बिचल्ली !

माधव नेपालको बिचल्ली !



माओवादीले आफ्नो चुनाव चिन्हबाट निर्वाचित सांसद भइ मन्त्रिमण्डलमा रहेका चार जनालाई कारबाहीको प्रक्रिया शुरु गरेलगत्तै एमालेले पनि माओवादीनिकट पुगेका नेताहरू माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालसँग स्पष्टिकरण मागेर कारवाहीको सङ्केत दिएको छ । एमालेले झलनाथ खनाल, योगेश भट्टराई र रामकुमारी झाँक्रीलाई छोडेर किन उल्लिखित नेताहरूसँग मात्र स्पष्टिकरण मागेको हो, त्यसलाई रहस्यपूर्ण मानिएको छ । राजधानी काठमाडौंपूर्वका कसैलाई पनि अनुशासन उल्लङ्घन गरेको भन्दै स्पष्टिकरण नमाग्नु र मागिएका जति सबै नेताहरू काठमाडौंदेखि पश्चिमतर्फका हुनु संयोग मात्र नभएको विश्लेषकहरूको विश्वास छ ।

प्राप्त जानकारीअनुसार एमाले नेतृत्वले पार्टीमा समूहगत अस्तित्व अस्वीकार गर्ने भएको छ । त्यसैले पार्टी अध्यक्ष या अन्य कसैले असन्तुष्ट रहेका व्यक्तिसँग मात्र संवाद गर्ने, समूहगत रूपमा कसैसँग कुनै पनि स्तरको भेटवार्ता नगर्ने भएका छन् । स्पष्टिकरण मागिएका नेताहरूले पार्टी अध्यक्षसँग भेट गर्न चाहेमा अब छुट्टाछुट्टै जानुपर्ने हुन्छ ।

ओलीका निर्णयहरूले माधव पक्षलाई शीर उठाउनै नसक्ने गरी थला पार्दै लगेको छ । ओलीसमक्ष आत्मसमर्पण गरी चुपचाप एमालेमा बस्ने, सांसद पद परित्याग गर्दै प्रचण्डसँग सहमति गरेर या नगरिकन नयाँ पार्टी दर्ता गर्नेबाहेक अन्य विकल्प माधव पक्षसँग अब रहेन ।

नेकपा एमाले संसदीय दलको बैठकले अनुशासन उल्लङ्घन गर्ने समानुपातिक सांसदलाई फिर्ता बोलाएर उक्त स्थानमा अर्को व्यक्तिको चयन गर्न मिल्नेगरी विधान संशोधन गरेको छ । त्यसैगरी कुनै सांसदले ‘फ्लोर क्रस’ गर्ने सूचना प्राप्त भएमा त्यस्ता सांसदलाई ‘फ्लोर क्रस’ गर्नुअगावै कारबाही गर्न सक्ने गरी संसदीय दलले आफ्नो विधान संशोधन गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदिएपछि एमाले अध्यक्ष केपी ओली माओवादीसँग लहस्सिएका नेताहरूप्रति निकै निर्मम देखिनुभएको छ । अध्यक्ष ओली एमालेलाई पूर्ण रूपले आफ्नो पकडमा लिन सफल हुनुभएको छ ।

ओलीका निर्णयहरूले माधव पक्षलाई शीर उठाउनै नसक्ने गरी थला पार्दै लगेको छ । ओलीसमक्ष आत्मसमर्पण गरी चुपचाप एमालेमा बस्ने, सांसद पद परित्याग गर्दै प्रचण्डसँग सहमति गरेर या नगरिकन नयाँ पार्टी दर्ता गर्नेबाहेक अन्य विकल्प माधव पक्षसँग अब रहेन । आगामी मङ्सिरमा हुने एमालेको दशौँ महाधिवेशनबाट केपी ओली नै अध्यक्ष पदमा पुनः निर्वाचित हुन सक्ने निश्चित मानिएको छ । अर्को पाँच वर्षका निम्ति पनि केपी नै अध्यक्ष हुने स्थितिमा माधव र झलनाथलगायतका नेताहरू कसरी एमालेमा रहन सक्नुहुने हो– चासोको विषय बनेको छ ।

माधव पक्षका सांसदहरू एमालेमा फर्कने क्रम शुरु भएकोले अन्ततः माधवमाथि थप दबाब बढ्ने र चुपचाप एमालेमै रहनुपर्ने स्थिति बन्न सक्ने सम्भावना पनि छ । बिनाशर्त एमालेमा नबसे माधव नेपालसहितका नेताहरू पार्टी कारवाहीमा पर्ने निश्चित भएको छ ।