सबै पार्टीभित्रको अन्तरद्वन्द्वमा प्रचण्ड, परिस्थिति संसद् विघटनतर्फ सोझिँदै

सबै पार्टीभित्रको अन्तरद्वन्द्वमा प्रचण्ड, परिस्थिति संसद् विघटनतर्फ सोझिँदै



नेकपा माओवादीबाहेक अन्य सबै दलहरू यतिबेला आन्तरिक विवाद र झमेलामा फसेका छन् । माओवादीमा तत्काल विवादको स्थिति नहुनु र एमालेमा द्वन्द्व बढ्नु स्वभाविक भए पनि मधेशकेन्द्रित समूह र काङ्ग्रेसमा उत्पन्न द्वन्द्व अप्राकृतिक भएको पाइएको छ । काङ्ग्रेसको संस्थापन पक्ष पछिल्लो समयमा स्थिर र परिपक्व भूमिकामा देखापरेको भए पनि कोइराला पक्ष ‘निर्देशित’ भूमिकामा देखिएको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछिका दिनमा प्रचण्डभन्दा उग्र ढङ्गले प्रस्तुत हुने गरेका रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला र गगन थापाहरू आफ्नै सभापति शेरबहादुर देउवाप्रति समेत त्यत्तिकै आक्रामक थिए । देउवा प्रधानमन्त्री भएमा पार्टीको आगामी महाधिवेशनलाई प्रभावित गरेर पुनः सभापति बन्न सक्छन् भनेर देउवाका विरोधीहरू ‘काङ्ग्रेस कुनै हालतमा पनि सरकारमा जानु हुँदैन’ भन्ने धारणा राख्दै थिए । पौडेल, सिटौला, थापा र कोइरालासँग प्रचण्डले अलग-अलग संवाद गरेर ‘सुझाव’ दिएपछि उनीहरूले ‘अब देउवाकै नेतृत्वमा भए पनि काङ्ग्रेस सरकारमा जानुपर्छ’ भन्न थालेका छन् ।

ज्ञातव्य छ, प्रचण्डको एक सूत्रिय एजेण्डा जसरी भए पनि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउनुपर्छ भन्ने छ । शेरबहादुर देउवा आफू प्रधानमन्त्री बन्न पाउने अवस्थामा मात्र सत्ताका लागि अग्रसर हुने, तर काङ्ग्रेसभित्रको विरोधका कारण देउवा सत्ता-गठबन्धनका निम्ति अघि नसर्ने स्थिति देखिएपछि प्रचण्डले काङ्ग्रेसका देउवाविरोधीहरूलाई ‘नयाँ लाइन’ दिनुभएको र प्रचण्डबाट ‘लाइन’ आएपछि उनीहरू देउवालाई प्रधानमन्त्री बनाएर भए पनि केपीलाई पदमुक्त गराउने खेलमा जुटेका छन् ।

यता प्रचण्ड जुन गतिमा अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य गर्दै हुनुहुन्छ, उता प्रचण्डपक्षीय काङ्ग्रेस नेताहरू सोही गतिमा देउवालाई प्रधानमन्त्री बन्न दबाब पैदा गर्दैछन् । पौडेल, सिटौला, गगन र कोइरालाहरू देउवाप्रतिको सद्भाव या काङ्ग्रेस र प्रजातन्त्रको चिन्ताले भन्दा पनि प्रचण्डप्रतिको ‘हमदर्दी’ले केपीलाई पदमुक्त गराउनकै निम्ति देउवामाथि प्रधानमन्त्री बन्न दबाब पैदा गर्दैछन् ।

काङ्ग्रेसभित्रको विरोधका कारण देउवा सत्ता–गठबन्धनका निम्ति अघि नसर्ने स्थिति देखिएपछि प्रचण्डले काङ्ग्रेसका देउवाविरोधीहरूलाई ‘नयाँ लाइन’ दिनुभएको र प्रचण्डबाट ‘लाइन’ आएपछि उनीहरू देउवालाई प्रधानमन्त्री बनाएर भए पनि केपीलाई पदमुक्त गराउने खेलमा जुटेका छन् ।

यतिबेला प्रचण्ड एमालेको माधव समूह, मधेशकेन्द्रित समूहको उपेन्द्र-बाबुराम पक्ष र काङ्ग्रेसको कोइराला पक्षलाई आफू अनुकुल प्रयोग-उपयोग गर्न खोज्दै हुनुहुन्छ । माओवादी पार्टीमा अहिले प्रचण्डको एकलौटी हक कायम भएको छ भने अन्य पार्टीहरूमा समेत निश्चित प्रतिशत ‘हक सुनिश्चित गर्ने’ प्रयास प्रचण्डबाट भइरहेको छ । मधेशकेन्द्रित समूहको उपेन्द्र-बाबुराम पक्ष पहिलेदेखि नै प्रचण्डसँगको समझदारीमा थियो । उक्त पक्ष केपी ओलीप्रति ज्यादा अनुदार रहँदै आएको छ । जसपाभित्रको बामपन्थी कम्युनिष्ट धारको प्रतिनिधित्व उपेन्द्र-बाबुरामले गर्दै आएका छन् भने प्रजातान्त्रिक धारको नेतृत्व महन्थ ठाकुरले गर्दै आएका छन् । ठीक एक वर्षअघि मध्यरातमा राजपा र सङ्घीय समाजवादी समूहबीच रहस्यपूर्ण ढंगले पार्टी एकिकरण भएको थियो । पृष्ठभूमि, विचार र व्यवहारमा भारी अन्तर रहेका दुई समूहबीचको एकता कृत्रिम ढङ्गले भएको हुँदा त्यो दीगो हुन नसक्ने विश्वास गत वर्षदेखि नै गरिएको हो ।

उपेन्द्र र बाबुरामले प्रचण्डसँग मिलेर सत्तामा जाने प्रयास गरेपछि सिङ्गै राजपा कित्ता त्यसविरुद्ध खडा भएको छ । अब उक्त दुई पक्ष कुनै पनि समय ‘प्राकृतिक स्वरुप’मा फर्किए भने आश्चर्य हुने छैन । महन्थ ठाकुर पक्ष सत्ताको खेलमा नलाग्ने र, तटस्थ भूमिका निर्वाह गर्ने अडानमा देखिएको छ । यो पक्षको अडानले प्रचण्डको योजनालाई गम्भीर धक्का पुऱ्याएको छ ।

नेकपा एमालेभित्रको द्वन्द्वमा पनि प्रचण्डको उपस्थिति देखापरेको छ । झण्डै चालिस प्रतिशत एमाले समर्थकहरू लिएर नेकपाको नाममा सङ्गठित हुन भइरहेको प्रयासमा फागुन २३ गते भएको सर्वोच्च अदालतको निर्णयले अवस्था बदलिदिएपछि माधव नेपाल पक्ष एमालेमा फर्कन बाध्य त भयो, तर उहाँहरूको फिर्तीपछि एमालेको द्वन्द्व उत्कर्षमा पुग्यो, पुगिरहेको छ । एमालेमा फर्किंदा पनि माधव पक्षमा प्रचण्ड (माओवादी) गन्ध आएको महशुस प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको बताइन्छ । त्यसैले अब ‘भविष्यमा उठ्नै नसक्ने गरी’ माधव पक्षलाई सखाप पार्ने प्रयास एमालेको संस्थापनबाट भइरहेको छ ।

नेकपा एमाले यतिबेला केपीको एकलौटी स्वामित्वमा करिब गइसकेको छ । केपीसमक्ष आत्मसमर्पण गर्ने, नयाँ पार्टी दर्ता गर्ने या प्रचण्डको पार्टीमा विलय हुनेबाहेकको विकल्प माधव पक्षसँग देखिँदैन । केपीलाई प्रधानमन्त्री पदबाट मुक्त गराउन सक्दा मात्र आफ्ना निम्ति अनुकुल परिस्थिति बन्न सक्ने भएकोले भित्रभित्रै माधव पक्ष केपीविरोधी क्रियाकलापमा सरिक भइरहेको पाइएको छ । कदाचित प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा ‘फ्लोर क्रस’ गर्नेसम्मको तयारीमा माधव पक्ष देखिन्छ ।

एमालेलाई आफ्नो काबुमा लिने र पुनः प्रचण्डसँग एकिकरण गरेर केपीरहित तर बलियो कम्युनिष्ट पार्टी बनाउने माधव नेपाल पक्षको सपना हो । उहाँहरूको सपना तत्काल पूरा हुन सक्ने देखिएको छैन । तथापि, प्रधानमन्त्री र एमालेलाई शान्त रहन नदिने योजनामा भने प्रचण्ड र माधव नेपाल सफल हुनुभएको छ ।

पार्टीहरूभित्र उत्पन्न अन्तरद्वन्द्वले सत्ता-राजनीतिलाई निर्णायक असर पारिरहेको छ । काङ्ग्रेस र मधेशकेन्द्रित समूह एक भएको अवस्थामा मात्र प्रचण्ड, माधव र बाबुरामको सपना पूरा हुने हो । तर उक्त दुई दल एकतावद्ध रहन सक्ने सम्भावना अहिलेसम्म देखापरेको छैन । संसद्भित्र र बाहिर उत्पन्न राजनीतिक परिस्थितिले तत्काल जसको सरकार जसरी बने पनि अन्ततः संसद् विघटन र ताजा जनादेशमै मुलुक जान सक्ने सङ्केत गरिरहेको छ ।