सहायता सामग्री (कोभिड-१९ विरुद्धको खोप लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री) लिन आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज राति खोपलगायत स्वास्थ्य सामग्री लिएर फर्किंदैछ ।
निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार आइतबार साँझ ५ः३० बजे काठमाडौँबाट बेइजिङ प्रस्थान गरेको विमान आज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ र राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको हो ।
कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।
निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
प्रतिक्रिया