नागरिकताको लागि रकम लिने वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

नागरिकताको लागि रकम लिने वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी


  • सुरेश परियार, रुपन्देही

नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ को वडा अध्यक्षको कार्यकक्षमा आज साँझ ५ः१० बजेको समयमा कांग्रेस वडा समितिले विज्ञप्ति जारी गर्दै ताला लगाएको हो ।

नागरिकता बनाइदिन्छु भन्दै सेवाग्राही भरतप्रसाद थारुबाट सैनामैना नगरपालिका वडा नं. २ का वडा सदस्य थानेश्वर गिरिले १० हजार घुस लिएको आरोप लगाउँदै पीडित पक्षले चैत्र १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएका थिए ।

तर, दर्ता भएको निवेदनको वडा कार्यालयले अहिलेसम्म कुनै सुनुवाई नगरेको भन्दै न्यायको मागका साथ ताला लगाएको कांग्रेस वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरेको हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

न्याय मार्नका लागि वडा कार्यालय नै उद्धत रहेको भन्दै दोषीलाई कडा कारवाही र पीडित पक्षलाई क्षतिपुर्तिसहित न्याय नपाउँदासम्म अनिश्चितकालीन तालाबन्दी गरिने विज्ञप्तिमार्फत जनाइएको छ । वडा कार्यालय अनिश्चितकालीन बन्द रहँदा जनताले सास्ती भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कानुनतः घुस तथा भ्रष्टाचारसम्बन्धी आपराधिक क्रियाकलापलाई फौजदारी अभियोग मानिन्छ । फौजदारी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न कानूनबमोजिम अधिकारप्राप्त अदालत, न्यायिक निकाय वा अधिकारी पर्दछन् ।

स्थानीय तहमा रहेका न्यायिक समितिले खासगरी मुलुकी देवानीसम्बन्धी मुद्धाको निरुपण गर्दछ भने फौजदारी मुद्दा अन्य अदालत, न्यायिक निकाय वा अधिकारीले फैसला गर्दछ । ५० हजार रुपैयाँसम्म घुस लिएमा एकदेखि ६ महिनासम्म कैद हुने कानुनी ब्यवस्था रहेको छ ।

यो पनि हेर्नुहोस्-

https://ghatanarabichar.com/215268