रिजर्भ गरिएको जीप राङरुङ भिरबाट खस्दा दुई जनाको मृत्यु, सात घाइते

रिजर्भ गरिएको जीप राङरुङ भिरबाट खस्दा दुई जनाको मृत्यु, सात घाइते



गोरखाको बारपाक सलिकोट गाउँपालिका-२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।

बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् ।

बताइएअनुसार दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएकामा लमजुङ बेशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल रहेका छन् । घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको छ ।

जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिजर्भ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् ।

symbolic image