सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलालीमा सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानूनी व्यवस्था भएअनुसार प्रदेश प्रहरी कार्यालय सरेको उनको भनाइ छ ।
वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सरेपछि डोटीका स्थानीयवासी असन्तुष्ट भएका छन् ।
नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय यसअघि नै कैलालीको तेघरीमा सरेको हो । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरूले आश्वासन दिए पनि अहिले रातारात कैलालीमा कार्यालय सारिन लागेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्न थालेको जगत पुस्तक भण्डार दिपायल पिपल्लाका खडकबहादुर शाहीले बताए । उनले भने, ‘राजधानी कायम नभए पनि क्षेत्रीय स्तरका कार्यालय नसार्ने भनेर मुख्यमन्त्री सहितका अन्य मन्त्री तथा नेताले आश्वासन दिए, अहिले धमाधम कार्यालय सारे यस्तो पनि हुन्छ र ?’
सङ्घीयता कायम हुनुभन्दा पहिले डोटीको दिपायलमा रहेका क्षेत्रीय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनहरूमा प्रदेशस्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म पनि कुनै कार्यालय स्थापना भएका छैनन् ।
दिपायलमा रहेका क्षेत्रीय कार्यालय तथा सेना, प्रहरीका कार्यालय सारेपछि यहाँको व्यापार व्यवसाय पनि खस्कँदै गएको हरिष फेन्सी दिपायलका नरबहादुर खड्काले बताए । उनले भने, ‘क्षेत्रीय स्तरका कार्यालय थिए, यहाँ चहलपहल र व्यापार हुन्थ्यो, कार्यालय सबै कैलाली लगेपछि अहिले व्यापार व्यवसाय सुनसान भएका छन् ।’
प्रतिक्रिया