घाइतेको उपचारका लागि मन्त्रीद्वारा एक लाख सहयोग
बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबार साँझ हात्ती चराउँदै गरेका एक माहुतेको पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।
हात्तीका लागि घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।
प्रकरीका अनुसार ठाकुरबाबा-९ गैँडामचानस्थित निकुञ्जभित्र रहेका गैँडा गणना गर्न गएका बर्दिया ठाकुरबाबा-९ गुडगवा बस्ने थारूलाई घाँसको लागि हात्तीबाट भुइँमा झरेको अवस्थामा बाघले आक्रमण गरी.२०० मिटर टाढा लगी मारेको हो ।
यता, गैँडा गणनाका क्रममा यही चैत २० गते ध्रुवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले व्यक्तिगत तर्फबाट एक लाख उपचार खर्च प्रदान गरेका छन् ।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौंको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेका हुन् । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने जानकारी मन्त्री आलेलाई उद्धृत गर्दै उनका निजी सचिव रविन ज्ञालनले जनाएका छन् ।
सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका बताइएको छ ।

प्रतिक्रिया