नेता झस्किने गरी राजाको स्वागत !

नेता झस्किने गरी राजाको स्वागत !



पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहलाई भारतमा गरिएको भब्य स्वागतले नेपालमा ठूलो तरङ्ग पैदा गरेको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा शाही स्नानका लागि राजालाई निमन्त्रणा गर्दैमा ‘नेपाल नरेश श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गरिएको थियो । भारतमा राजालाई पूर्व नभइ वर्तमान महाराजाधिराजकै रूपमा स्वागत गरिएको छ । स्वागतार्थ तयार पारिएका तुल, ब्यानर र पोष्टरमा मात्र नभइ सञ्चारमाध्यममा समेत राजालाई ‘नेपाल नरेश श्री ५ महाराजाधिराज’का रूपमा उल्लेख गरिएको छ ।

भारतमा राजालाई मिलेको स्वागत–सत्कार र सम्बोधनले सर्वसाधारण नेपाली जनतामा राजसंस्था पुनस्र्थापित हुने विश्वास जगाएको छ भने सबै प्रमुख दलका नेताहरूलाई चाहिँ नराम्रोसँग झस्काएको छ । भारतमा राजाले पाएको महत्वको राजनीतिक अर्थ नेपालमा खोजी हुन थालेको छ । नेपाल आगमन हुने दिन यहीँ पनि उहाँको स्वागतमा हज्जारौँ हजार मानिस विमानस्थलमा पुग्ने सम्भावना बढाएको छ । त्यसैले राजाको स्वदेश आगमनका दिन कोरोनाको कारण देखाएर सरकारले भिड जम्मा हुन नदिने अनुमान गर्न थालिएको छ ।

हरिद्वारमा शाही स्नान भएपछि पूर्व श्री ५ भारतको राजधानी नयाँदिल्ली पुग्ने र त्यहाँ करिब एक साता बसेर स्वदेश फर्कने कार्यक्रम पहिले नै तय भएको थियो । दिल्लीमा रहँदा मौसुफको अत्यन्त महत्वपूर्ण भेटघाट हुने बुझिएको छ । यसपटक भारतीय संस्थापन सम्बद्ध व्यक्तिहरूसँग निर्णायक वार्तालाप गर्ने ‘मूड’ राजाले बनाउनुभएको बुझिएको छ । पूर्व श्री ५ वैशाख ५ या ६ गते स्वदेश फर्कनुहुने बताइएको छ ।

भारतीय सञ्चारमाध्यममा राजा ज्ञानेन्द्र

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहलाई भारतको हरिद्वारमा भब्य स्वागत गरिएको कुरालाई भारतीय मिडियाले महत्वका साथ प्रकाशित÷प्रशारित गरेका छन् । कुम्भ मेलाको प्रमुख अतिथिका रूपमा यही चैत्र २६ गते हरिद्वार पुग्दा उहाँलाई हेलिकप्टरबाट पुष्पबृष्टिका साथ विशेष स्वागत गरिएको कुरा फोटो र दृष्यसहित विभिन्न मिडियाले प्रकाशित/प्रशारित गरेका छन् ।

एशियन न्युज इन्टरनेशनल (एएनआई) ले प्रकाशित गरेको ‘नेपाल किङ रिचेज हरिद्वार टु पार्टिर्सिपेट इन कुम्भ फेष्टिभल’ शीर्षकको समाचार तस्बिरसहित विभिन्न पत्रपत्रिकाले प्रकाशित गरेका छन् । अप्रिल ११, २०२१ मा प्रकाशित एएनआईको उक्त समाचारलाई टाइम्स अफ इन्डिया, लोकमत, युरोपियन टाइम्स लगायतका अखबारसहित दर्जनौँ अनलाइनहरूले फरक–फरक तस्बिरसहित प्रकाशित गरेका छन् । अप्रिल १२ मा टाइम्स अफ इन्डियाले ‘फर्मर नेपाल किङ ज्ञानेन्द्र वीर विक्रम शाह टु पार्टिसिपेट शाही स्नान’ शीर्षकमा समाचार लेखेको छ । पञ्जाब न्युज तथा उत्तराखण्डका केही समाचार पत्र र अनलाइनहरूले पूर्वराजा लेखेका छन् भने धेरैजसो समाचारपत्र र अनलाइनहरूले ‘नेपालका राजा’ भनी शीर्षक राखेका छन् । ती मिडियाले दिएका समाचारमा नेपाल-भारत सम्बन्धमा धार्मिक तथा साँस्कृतिक महत्वलाई दर्शाइएको छ । कतिले चाहिँ नेपाल सम्राट ज्ञानेन्द्र वीर विक्रम सिंह भनी उल्लेख गरेका छन् । कतिपय अनलाइन र समाचारपत्रले प्रमुख अतिथिका रूपमा राजालाई पठाइएको निमन्त्रणा पत्र नै प्रकाशित गरेका छन् । पत्रमा ‘नेपाल नरेश, श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव, काठमाण्डु नेपाल’ भनी उल्लेख गरिएको छ ।

यसैगरी हिन्दुस्तान टाइम्स, द ट्रिब्युन लगायतका दर्जनौँ अखबारका अनलाइन टीभीहरू, युटुब च्यानल तथा टेलिभिजनहरूमा राजा ज्ञानेन्द्रले कुम्भ मेलामा गर्नुभएको शाही स्नान, पूजा-अर्चना र उहाँका मन्तब्यलाई प्रशारित गरेका छन् । टेलिभिजन च्यानल तथा अनलाइन टिभीहरूले पनि नेपाल नरेश भनेर सम्बोधन गरेका छन् । केही टेलिभिजन च्यानलले नेपालका पूर्वनरेश भने पनि धेरैजसो टेलिभिजनले नेपालका राजा या नरेश भनेका छन् । ती च्यानलहरूमा सन्त, महासन्त र आचार्यहरूका भनाइ पनि राखिएका छन् । विभिन्न च्यानलले हिन्दी भाषामा गरेका प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले नेपालीमा जवाफ दिनुभएको छ । उहाँले नेपालीमा दिनुभएको जवाफलाई जस्ताको तस्तै प्रशारित गरिएको छ ।

नेपालका राजकीय तथा उच्चस्तरीय भ्रमणहरूलाई भारतका मिडियाले खासै महत्व दिएको पाइँदैन । पूर्व श्री ५ ज्ञानेन्द्रले राजाका रूपमा पहिलो औपचारिक भ्रमण गर्दा भारतका मिडियाले खासै महत्व दिएका थिएनन् । प्रधानमन्त्री तथा राष्ट्रपतिका राजकीय भ्रमणलाई पनि मिडियाले चासो दिएको पाइँदैन । तर पूर्व श्री ५ को यसपटकको भ्रमणलाई भने भारतीय मिडियाले महत्वपूर्ण स्थान दिएका छन् ।