अफगानिस्तानमा २४ घण्टामा ५० बढी विद्रोहीको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तानमा २४ घण्टामा ५० बढी विद्रोहीको सुरक्षा कारबाहीमा मृत्यु



अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकूसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् ।

वाशिङ्गटनले आफ्नो सेनालाई अफगानिस्तानबाट फिर्ता लाने निर्णय गरिसकेको छ । यसका लागि वासिङ्टनले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

पछिल्लो पटक तालिवान लडाकूले तखार प्रान्तको राजधानी तालुकान सहरको बाहिरी घेरामा रहेको एउटा सुरक्षा जाँच केन्द्रमा शनिबार बिहान आक्रमण गरी सरकारनिकट मानिने चार लडाकूलाई मारेका थिएभ ने पाँच घाइते भएका थिए ।

यसको जवाफमा सरकारी सुरक्षाकर्मीले इमाम साहिब जिल्लामा आक्रमण गरेको बताइएको छ । उक्त घटनामा दुई तालिवान लडाकूको मृत्यु भयो भने चारलाई पक्राउ गरिएको मोहम्मद स्माएललाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधवार अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता मे १ देखि गर्ने घोषणा गरेका छन् र यो प्रक्रिया सेप्टेम्बर ११ मा सम्पन्न हुने बताइएको छ ।

अफगानिस्तानका लडाकू विमानहरूले पश्चिमी निमरोज प्रान्तको खाशरोद जिल्लामा तालिबानी लडाकू समूहको भेलालाई लक्षित गरि गरेको अर्को एक आक्रमणमा शुक्रबार अपरान्ह् २२ लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कारबाहीबाट १७ सैनिकसहित २० सुरक्षाकर्मीलाई तालिवानी समूहको कब्जाबाट मुक्त गरिएको दावी रक्षा मन्त्रालयले गरेको छ ।

त्यस्तै अफगानिस्तानका विभिन्न स्थानमा गरिएका स्थल कारबाहीमा विगत २४ घण्टामा अन्य २० तालिवान लडाकूको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । यी घटनाबारे तालिवान समूहको धारणा सार्वजनिक भइसकेको छैन ।