महामारीका कारण राहुल गान्धीद्वारा चुनावी ऱ्याली स्थगित

महामारीका कारण राहुल गान्धीद्वारा चुनावी ऱ्याली स्थगित



भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ऱ्याली स्थगित गरेका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै ऱ्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि उनले सोच्न आग्रह गरेका छन् ।

विपक्षी नेता गान्धीले ट्वीट् सन्देशमा भनेका छन्, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै ऱ्यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने ऱ्यालीहरुका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बनौँ ।’

पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ। अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरुले दैनिकजसो चुनावी सभा तथा ऱ्यालीहरु गर्दै आएका छन् ।

शनिबार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा उक्त राज्यको भ्रमण गर्ने तयारी छ ।