‘सडकमा कुर्लंदैमा कार्यक्रम बन्द नहुने’ सुवेदीको दाबी

‘सडकमा कुर्लंदैमा कार्यक्रम बन्द नहुने’ सुवेदीको दाबी


‘शिल्पाजी आफ्नो कुरा राख्न किन डराइरहनुभएको छ, मैले बुझिनँ’ : रङ्गपत्रकार सुवेदी

  • राजन घिमिरे

रङ्ग पत्रकार प्रकाश सुवेदीको सञ्चालनमा एपीवान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ नामक कार्यक्रम बन्द भएको चर्चा चलिरहेकै बेला कार्यक्रम प्रस्तोता सुवेदीले कसैले सामाजिक सन्जाल तथा सडकमा कुर्लंदैमा आफ्नो कार्यक्रम बन्द नहुने जिकिर गरेका छन् । घटना र विचारसँग यस विषयमा कुरा गर्ने क्रममा पत्रकार सुवेदीले प्रतिप्रश्न गर्दै भने- ‘एपीवन टेलिभिजनसँग असार मसान्तसम्मका लागि मेरो सम्झौता भएको छ । यसरी कानुनी रूपमा म माथि छु । कसरी मेरो कार्यक्रम बन्द हुन्छ ?’

श्रीमान् छवि ओझासँग बिग्रिएको सम्बन्धबारे चलिरहेको मुद्दा-मामलाका कारण पछिल्लो समय निकै विवादमा परेकी अभिनेत्री शिल्पा पोखरेलले सुवेदीको कार्यक्रम रजतपट र ग्ल्यामर गफको प्रशारण बन्द गर्न टेलिभिजनलाई निवेदन दिएको बताइन्छ । यससम्बन्धी समाचार सार्वजनिक भएलगत्तै सुवेदीले ‘आफूलाई टेलिभिजनले कार्यक्रम बन्द गर्न कुनै पनि निर्देशन नदिएको’ बताए ।

‘मैले कार्यक्रममा एकतर्फी कुरा मात्र राखेको आरोप लगाइएको छ, तर मैले प्रमाणसहित कार्यक्रम देखाएको छु । शिल्पाजीलाई पनि आउनुस् तपाईंको आफ्ना कुरा राख्नुस् भनी आग्रह गर्दा उहाँ नआउने अनि बाहिर-बाहिर कार्यक्रम बन्द गराइदिन्छु भनेर हिँड्नु कति जायज हो ? आफ्नो कुरा राख्न किन शिल्पाजी डराइरहनु भएको छ मैले बुझिनँ’- सुवेदीको भनाइ छ ।

पत्रकार सुवेदीले यसरी हरेक विषय टेलिभिजनमा आउँदा कसैलाई चित्त बुझेन भने कार्यक्रम नै बन्द गरिदिन्छु भन्ने र त्यसैअनुरूप संस्कार विकास गर्दै जाने हो भने टेलिभिजन कार्यक्रम नै बन्द गरे हुन्छ भन्दै आफू शिल्पा प्रकरणमा कानुनी रूपमा बलियो भएको र आफूले जीवनमा कहिल्यै पित पत्रकारिता नगरेको जिकिर समेत गरे ।