- सनत आचार्य
पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ । उक्त गिरोहले पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएमा आफूसँग सम्पर्क गर्न आग्रह गर्छ ।
यदि रिपोर्ट पोजेटिभ आएमा ट्राभल एजेन्सीमा कार्यरत कर्मचारीहरूले एक अपरिचित व्यक्तिको नम्बर दिन्छन् । उनीहरूबीच कुराकानी हुन्छ । खाडी मुलुक जाने कामदारहरूका लागि तोकिएको मितिमा उड्न नपाए टिकट ल्याप्स हुने, फेरि नयाँ टिकट लिनुपर्ने, यसका लागि थप पैसा खर्च हुने, क्वारेन्टिनमा बस्नुपर्ने, यो सबै गर्दा जागिर गुम्ने सम्भावना बढी छ भन्दै नेगेटिभ मोटिभेसन गर्छन् । यात्रु यो सब झन्झट गर्नुभन्दा रकम थप गरेर ‘फेक रिपोर्ट’मै यात्रा गर्ने मनसायमा पुग्छ । यसरी कोरोना पोजेटिभ भएका व्यक्ति ‘नेगेटिभ’ भएर धमाधम विदेश उड्छन् ।
रिपोर्ट बनाएबापत उक्त गिरोहले थप दुई हजार पाँच सयदेखि पाँच हजारसम्म असुल्छ ।
यसरी यात्रा गर्नेहरूमा खाडी मुलुकमा काम गर्न जाने कामदार र युरोप-अमेरिकालगायतका देशहरूमा यात्रा गर्ने विद्यार्थीहरू बढी संख्यामा रहेका छन् ।
कामदारहरू काम छुट्ने र काम गर्न नपाइने अनि पढाइका लागि जाने विद्यार्थीहरू भने पढाइ छुट्ने भएपछि यसरी नक्कली स्वास्थ्य-प्रतिवेदन बनाउन बाध्य भएको बताइन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोला यसरी नक्कली प्रतिवेदन बनाएर यात्रा गर्नु कानुनी रूपले दण्डनीय भएको र यात्रा गर्न लागेको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने बताउँछन् ।
पिसीआर रिपोर्ट सक्कली हो कि नक्कली भन्ने सम्बन्धमा यकिन गर्न विमानस्थल सुरक्षा कार्यालयले सुक्ष्म रूपमा हेरिरहेको र यस्ता रिपोर्ट बनाउनेको स्थान र संलग्न व्यक्तिहरूको पहिचान गर्न विभिन्न निकायहरूसँग समन्वय भइरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।
ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) का पूर्वमहासचिव मोहन लम्सालका अनुसार ट्राभल एजेन्सी र केही निजी क्लिनिक र व्यक्तिहरूको स्वार्थले पुनः नेपालको संसारभर बदनामी हुने अवस्था सिर्जना भएको बताउँछन् ।
लम्सालले यो स्वास्थ्य क्षेत्रमाथिको ठुलो खेलबाड भएको र केही स्वार्थी समुहको कारण ट्राभल एजेन्सीहरूको समेत बदनामी भएको र यस्ता समुहलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने बताए ।
ज्ञातव्य छ, कोभिड-१९ को प्रकोपसँगै नेपाललगायत विश्वभरका अन्तर्राष्ट्रिय उडानहरूमा पिसीआर रिपोर्ट नेगेटिभ हुनुपर्दछ । यसको अवधि ७२ घण्टाको हुन आवश्यक छ । यदि उडान समयमा रिपोर्ट पोजेटिभ आएमा टिकट लिएको ट्राभल एजेन्सीले अर्को मितिका लागि टिकट सार्दछ । यसका लागि कुनै थप शुल्क तिर्न पर्दैन ।
प्रतिक्रिया