जापानमा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेका हुन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो ।
एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।
जापानमा विशेष महत्वका साथ मनाइने ‘गोल्डेन विक होलिडेज’ नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ । बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिबन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ ।
सङ्कटकाल घोषणा गरिए पनि पूर्ण लकडाउन जस्तो भने नहुने बताइएको छ । कोरोना भाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दूरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया