भ्युटावर निर्माण निर्धारित समयमा नहुँदा बसपार्क पुनः सारिँदै

भ्युटावर निर्माण निर्धारित समयमा नहुँदा बसपार्क पुनः सारिँदै


काठमाडौंको खुल्लामञ्चबाट सञ्चालित लामो तथा छोटो दूरीका यातायातका साधन यही वैशाख १५ गतेदेखि रोकेर राख्न नपाइने भएको छ । काठमाडौं महानगरपालिका मातहत रहेको खुल्लामञ्चबाट सञ्चालित सबै यातायातका साधन गोङ्गबु बसपार्क र छोटो दूरीका गाडी पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

विगत ६ वर्षदेखि यातायातका साधन उक्त स्थानबाट सञ्चालन हुँदा समस्या आएको भन्दै कामपाले आगामी १५ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खुल्लामञ्च खाली गराई त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्लामञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वरी ज्ञवालीको भनाइ छ ।

यसअघि हाल भ्युटावर निर्माण भइरहेका स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साविक पुरानो बसपार्क काठमाडौं भ्युटावर निर्माण भए पनि निर्माणको कामले गति नलिएपछि कमपालाई बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ ।

वि.सं. २०७२ साउनदेखि बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्युटावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रुपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा थप समस्या भएको हो ।

यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई दुई वटा विकल्प दिइएको छ । ‘टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) बाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

त्यहाँको बसपार्क सारेर यही वैशाख १५ गतेभित्र कामपाले त्यस ठाउँका सबै संरचना हटाउने तयारी गरेको छ । हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ । सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले भन्नुभयो, ‘हामीले यस बसपार्कसँग सरोकार राख्ने सरोकार राख्नेलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ ।’

पन्ध्र गतेपछि कामपाले उक्त स्थानमा यातायातका साधन प्रवेश गर्ने र निष्कने स्थान दुवैमा रोक लगाउने छ । बताइए अनुसार अहिले भ्युटावरको काम ३० प्रतिशत सकिएको छ । पाँच वर्षमा सक्नेगरी २०७२ वैशाखदेखि टावर निर्माणको काम शुरु भएको थियो ।