- घटना र विचार संवाददाता
आफ्ना आमा, बाबु, पति या पत्नीको शव एक्लै जलाउनुपर्ने अवस्था मानिसमा हत्तपत्त आउँदैन । मर्दा-पर्दाका लागि आफन्त काम लाग्छन् भन्ने हाम्रो भनाइ नै छ । हिन्दू संस्कारमा आफ्ना सन्तान विदेश हुँदा बाबुआमाको देहान्त भयो भने केही दिन शव मुर्दाघरमा राखेर भए पनि सन्तान आएपछि सदगत गर्ने चलन छ । तर अहिले भारतका विभिन्न शहरमा मानिसहरू आफन्तको लाश एक्लै जलाउनुपर्ने अवस्थामा पुगेका छन् । बाबु-आमा मर्दा सन्तानले दागबत्ती दिने या धर्म-परम्पराअनुसार लाश जलाउने अवस्था छैन । लाश जलाउनका लागि घाटहरू खाली छैनन् । विभिन्न शहरका घाटहरू भरिएपछि मानिसहरू खेतबारीमा चिता बनाएर आफन्तको लाश जलाइरहेका छन् ।
लखनउकी पराजिता तिनै मानिसहरू मध्येकी एक हुन् जसले आफ्नो पतिको लाश एक्लै जलाउनु पर्यो । घरका सबै सदस्य कोरोना सङ्क्रमित भएर अस्पतालमा भएकाले सात दिनसम्म कोरोनासँग लडेर निधन भएका उनका पतिलाई घाटसम्म पुर्याउने आफूबाहेक कोही थिएन । घरमा असहाय सासु र सानो छोरा थिए । पतिको निधनले मर्माहत भएकी उनले एक्लै अब के गर्ने भन्ने सोच्नै सकिनन् । आपत परेपछि केही त गर्नु नै थियो । ‘एउटा कोशिस यस्तो पनि’ स्लोगनका साथ सहयोगमा जुटेकी वर्षा बर्मालाई फोन गरेर सहयोग मागिन् । वर्षाको टीमले उनाई सहयोग गर्यो । अपराजिताले घाटमा लगेर एक्लै आफ्ना पतिको दाहसंस्कार गरिन् ।
भारतमा वर्षाजस्ता धेरैले अहिले एक्लै आफन्तको दाहसंस्कार गरिरहेका छन् । नेपालमा पनि बाँकेको अवस्था हेर्दा यस्तो हृदयविदारक क्षण नआउला भन्न सकिन्न । विभिन्न जिल्लामा मानिसहरू सिकिस्त हुने क्रम बढिरहेको छ । भारतको जस्तो अवस्था आउन नदिन सबै तहमा गम्भीरता एवम् सजगता आवश्यक छ ।
(गत हप्ता निधन भएका पतिका साथ अपराजिता मेहरा, तस्बिर बीबीसी)
प्रतिक्रिया