ब्राजिलमा कोरोनाबाट एकै दिन तीन हजार बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट एकै दिन तीन हजार बढीको मृत्यु



ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि बताइएको छ । त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि त्यहााँको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको छ ।स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् ।