धार्मिक समारोहमा भागदौड मच्चिँदा उत्तरी इजरायलमा ४४ जनाको मृत्यु

धार्मिक समारोहमा भागदौड मच्चिँदा उत्तरी इजरायलमा ४४ जनाको मृत्यु



इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यहुदी नयाँ वर्ष “लाग बाओमर”को पूर्व सन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठूलो संख्यामा मानिस भेला हुने प्रचलन छ ।

इजरायली सञ्चारमाध्यमको अनुमान अनुसार, करिब एक लाख मानिस उक्त समारोहमा सहभागी थिए जसमा अति दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै माउन्ट मेरोनमा निकै दुःखद घटना भएको छ, र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भनेका छन् । उनले माउन्ट मेरोनमा उद्धार कार्यलाई तीव्र बनाउन आदेश दिइसकेको पनि जनाएका छन् ।

इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्वीट गर्दै घाइतेको उद्धार कार्यलाई तिब्र बनाउन आग्रह गरेका छन् ।

शुरुमा उक्त दुःखद घटना मञ्च भत्किएर भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम (एमडिए)ले भिडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडिएले घाइतेहरुलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ ।

घाइतेहरुलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ । युनाइटेड हजलाह आपतकालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयंसेवीले घटनास्थलबाट दर्जनौँ व्यक्तिलाई उद्धार गरेको दाबी गरेको सिन्ह्वाले जनाएको छ ।

सरकारले कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । कोरोनाभाइरस फैलन नपाओस् भन्नका लागि खोप लगाएका, कोभिबाट संक्रमणमुक्त भएका वा परीक्षणमा संक्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न त्यहाँको सरकारले अनुमति दिएको थियो । तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए ।