नाम भएपछि दाम त आइहाल्छ नि !

नाम भएपछि दाम त आइहाल्छ नि !


नयाँ नायिका हुन् अस्मिता कँडेल । काठमाडौंको जोरपाटीमा स्थायी बसोबास गर्ने अस्मिता अहिले शंकरदेव कलेजमा मास्टर्स अध्ययनरत छिन् । नयाँ चलचित्र सम्झिराख हैमार्फत सिनेमाको रंगीन दुनियाँमा आएकी अस्मिता पढेर सिनेमा क्षेत्रमा केही गरौँ भन्ने उद्देश्य बोकेर आएकी नायिकाको रूपमा चिनिन्छिन् ।
हिरोइन नबनेको भए के बनिन्थ्यो होला ?
सिनेमा क्षेत्रमा नआएको भए म बैंकतिर जान्थेँ होला । कमर्सको विद्यार्थी भएको नाताले पनि बैंकिङ क्षेत्र मेरो छनोटको क्षेत्र बन्दथ्यो ।
सिनेमा क्षेत्रमा लाग्ने सोचचाहिँ कसरी आयो नि ?
अभिनय वा नृत्य मेरो सुरुदेखिको रहर र इच्छा हो । जब ब्याचलर सकाएँ तब मलाई परिवारबाट पनि सपोर्ट भयो र सिनेमा क्षेत्रमा केही गरौँ भन्ने योजनामा लागेँ म ।
कस्तो छ त पहिलो चलचित्र सम्झिराख हैमा भूमिका ?
राम्रो छ । पहिलोपटक नै मैले सफल नायिकाको भूमिका हात पारेँ । यो चलचित्रमा पहिलोपटक नै यस्तो भूमिका हात पार्नु भनेको मेरा लागि राम्रो अवसर हो ।
कामचाहिँ कस्तो गरिएको छ नि ?
विश्वासका साथ भन्नुपर्दा म आफ्नो कामबाट सन्तुष्ट नै छु । आफ्नो काम र आफ्नो क्षेत्रप्रति जो सन्तुष्ट हुन सक्दैनन् त्यो मानिस कहिले पनि खुसी र सुखी हुन सक्दैन ।
यति राम्री, अनि नयाँ नायिका । आँखा लगाउनेहरू देखिएनन् ?
आँखा लगाउनेहरू त थिए होलान् । तर, उनीहरूलाई पनि मैले आँखा लगाउनुपर्‍यो नि । होइन र ?
के छ नि आगामी योजना ?
पहिले चलचित्र ‘सम्झिराख है’ रिलिज होस् । त्यस सिनेमाप्रति दर्शकहरूको प्रतिक्रिया कस्तो हुन्छ । अनि त्यसपछि अगाडि बढ्ने छु ।
अस्मिताको अर्थ थाहा छ ?
किन थाहा नहुनु नि ? इज्जत ।
सिनेमाका नायिकाहरूलाई किन इज्जतिलो तरिकाले हेर्दैनन् ?
पहिले यस्तो थियो तर अहिले हेराइ र विचारमा धेरै परिवर्तन आइसकेको छ । राम्रा र नराम्रा मानिस सबै क्षेत्रमा हुन्छन् । त्यसमाथि सिनेमा क्षेत्रको हल्ला बढी हुने भएकोले यसो भएको हो । तर, अहिले सिनेमा क्षेत्रसँग आबद्ध सबै विधाका व्यक्तित्वहरूको तारिफ हुन थालेको छ र इज्जत पनि बढ्न थालेको छ । विगतका कुराहरूलाई कोट्याएर वर्तमानमा गलत सोच्दै भविष्यप्रति चिन्तित हुनुहुँदैन ।
अस्मिता सिनेमा क्षेत्रमा आउनुको कारण के हो, नाम या दाम ?
अहिलेलाई त नाम नै हो । मलाई लाग्छ नाम भएपछि दाम स्वत: आउने कुरा हो । एउटा उचाइमा नाम पुर्‍याएपछि दामको चिन्ता गर्नैपर्दैन ।

सम्झनामा ‘स्वरसम्राट’
‘उनले जीवनमा जति गीत गाए सबै हिट नै भए । त्यसैले पनि नारायणगोपाल जनस्तरबाटै स्वरसम्राट कहलिएका हुन्’ यस्तै प्रतिक्रिया व्यक्त गरे सोमबार आयोजित एक कार्यक्रममा गीत/सङ्गीतका र्सजकहरूले ।
नारायणगोपालको २१औं स्मृति दिवसका अवसरमा अमर गुरुङलाई नारायणगोपाल प्रतिष्ठानले सम्मान पनि गर्‍यो । कार्यक्रममा नारायणगोपालको आवाजका कारण आफूले लेखेका गीतहरू जनज्रि्रोमा झुन्डिन सफल भएको वा स्वास्तविकता पनि बताउन पछि सरेनन् गीतकार कालीप्रसाद रिजाल । कार्यक्रममा नारायणगोपाललाई सम्भँmदै उनका कालजयी ‘झरेको पात झैं भयो…, यो सम्झने मन छ…’लगायतका गीत विभिन्न कलाकारले गाएका थिए ।
आधुनिक, लोक वा चलचित्र तीनै विधाका गीत गाउन सफल नारायणगोपालले गाएको नेपाली चलचित्र चोटको ‘बिरानो माया अधुरो रह्यो…’ बोलको गीतले निकै ख्याति कमाएको थियो । सोमबार कार्यक्रममा उपस्थित कलाकर्मीहरूले नारायणगोपालको खुलेर प्रशंसा गरे । उनीहरूको भनाइ थियो- नारायणगोपालजस्ता कलाकार अब नेपाली गीत/सङ्गीत क्षेत्रले पाउन सक्ने छैन । त्यसैले उहाँका सिर्जनालाई बचाएर राख्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

लोकगीतमा खुम्चिए धीरेन
कुनै समय सिनेमाको पर्दामा नायिकाहरूसँग छमछमी नाच्ने धीरेन शाक्यको नचाइ यतिबेला लोकगीतमा म्युजिक भिडियोतिर सीमित हुन पुगेको छ । निर्माताहरूको नजर र सोचबाट हटिसकेका धीरेन कम पारिश्रमिकमा पनि लोकगीतका मोडलसँग नाचिरहेका हुन्छन् पाखाहरूमा । करिश्मा मानन्धर, मौसमी मल्ल, रेखा थापा, कृष्टि मैनाली, जल शाह, रूपा राना, सारंगा श्रेष्ठजस्ता हस्तीहरूलाई आफ्नो जोडी बनाएर सिनेमाको पर्दामा नाच्ने धीरेन आजभोलि लोकगीतमा यिनै नायिकाहरूसँग नाच्ने समूहका केटीसँग नाच्न बाध्य छन् । ‘के गरून् उनले पनि ? निर्माता-निर्देशकहरूले वास्ता नगरेपछि टेलिभिजनमा अनुहार देखाउन भए तापनि लोकगीतमा ननाचेर के गर्नु -‘ निर्माताहरूको भनाइ छ ।
एक समय राजेश हमालकै हाराहारीमा पारिश्रमिक थाप्थे धीरेन । तर, अहिले लोकगीतहरूमा सामान्य मोडलभन्दा पनि कम पारिश्रमिकमा उनले काम गर्ने गरेको कुरा बताइएको छ । अर्को गाँठी कुरा त के छ भने उनी चलचित्र, म्युजिक भिडियोमा प्रयोग हुने प्राविधिक सामानहरू भाडामा पनि दिने गर्छन् । यदि आफ्नो सामान भाडामा लग्यो भने भिडियोमा बिनापारिश्रमिक पनि खेल्न तयार हुने गरेका रहेछन् उनी । यस्तो अवस्थामा पुग्नुमा धीरेनको आफ्नै कमजोरी मूल कारण भएको कुरा बताइन्छ ।
त्यसो त एक समय उनले आफू पनि चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । त्यो घोषणासँगै उनले आफूलाई निर्देशक लिने आशमा धेरै निर्देशकले धीरेनलाई सानोतिनो भूमिकातिर पनि लिए । तर, पछि फिल्म बनाउने धीरेनको कुरा त गफ रहेछ भन्ने थाहा पाएपछि ती निर्देशकले पनि धीरेनलाई लिन छाडे ।
अहिले नगरकोट, गोदावरी वा चोभारको डाँडोमा धीरेन लोकगीतमा नाचिरहेका भेटिन्छन् भने अरू नायकहरू सिनेमाको पर्दाका लागि चलेकै निर्देशकको निर्देशनमा चलेकै नायिकासँग काम गरिरहेका भेटिन्छन् । सधैं फुल्ने, ठूलो बन्ने र अरूलाई गन्दै नगन्ने धीरेनले आफ्नो बानी नसुधारेमा लोकगीतबाट पनि विस्थापित हुने दिन नआउला भन्न सकिन्न ।

नामका लागि सिनेमा, दामका लागि मोडलिङ
नेपाली सिनेमाकी सदावहार नायिका करिश्मा मानन्धरको चार्म, डिमाण्ड र चर्चामा आज पनि गिरावट आएको छैन । करिब दुई दशक अगाडिदेखि निरन्तर रूपमा सिनेमा क्षेत्रमा सक्रिय यी करिश्माले यतिबेला भने केही फरक सिनेमा खेल्ने उद्देश्य लिएकी रहिछिन् । गत शनिबार चलचित्र पत्रकार सङ्घको एक कार्यक्रममा उनले यो स्तम्भकारसँग भनिन्, ‘अब केही फरक फिल्म खेलौँ कि बन्ने सोच आएको छ । उस्तै कथा, उही समूह अनि उस्तै परिवेशका सिनेमाहरू खेल्दा-खेल्दा कहिलेकाहीँ त दिक्क लागेर पनि आउँदो रहेछ ।’ उनको आशय वसन्तीजस्ता चलचित्रमा काम गर्ने अफर आओस् भन्ने पनि थियो ।
करिब पाँच वर्ष अमेरिका भासिँदा पनि करिश्माको चर्चामा शून्यता छाएन । सधैं केही न केही कारणले चर्चामा आइरहने करिश्मा अहिले गोदावरीमा बस्ने गर्छिन् । त्यहाँ उनले आफ्नी आमालाई पनि एउटा घर बनाइदिएकी छिन् भने आफू जहाँ बस्छिन् त्यो क्षेत्रमा फिल्म स्टुडियो खोल्ने उनको इच्छा पनि रहेछ । ‘मैले विनोद -पति) लाई भनेकी छु । त्यो ठूलो क्षेत्र हामी सानो परिवारलाई काम छैन । त्यसैले त्यहाँ स्टुडियो बनाऔँ, ऊ पनि एग्रि भएको छ,’ उनले भनिन् । करिश्माको यो भनाइबाट प्रस्ट हुन कि उनी सिनेमा क्षेत्रसँग आबद्ध नै भएर जीवन बिताउन चाहन्छिन् ।
यसबीचमा करिश्माले एउटा नयाँ अनुभव पनि संगालेकी रहिछिन् । उनको भनाइमा काम गर्न सिनेमामा मज्जा भए तापनि दामका लागि भने विज्ञापन नै ठीक । ‘मैले महिनौँसम्म सिनेमामा काम गर्दा नपाएको पारिश्रमिक एक दिन विज्ञापनमा काम गर्दा पाएकी छु,’ उनले भनिन् । उनको अनुभवमा सिनेमाभन्दा विज्ञापन व्यवसाय फस्टाएको छ । यसो भन्दैमा सिनेमा क्षेत्रलाई भने माया मार्न आफू नसक्ने कुरा पनि लुकाइनन् उनले ।
पहिले-पहिले सिनेमा खेल्दा नेपाली हिरोइनभन्दा छ्या गर्नेहरू यतिबेला वाह भन्न थालेकोमा करिश्मा दङ्ग पनि छिन् । ‘हाम्रो पालामा हामीलाई नै छ्या भन्नेहरू अहिले वाह भनेर तारिफ गर्छन् । निरन्तरताको फल हो यो भन्छु म । अहिलेका नयाँहरू बिनासङ्घर्ष र गाली राम्रोसँग सफलता र ताली पाइरहेका छन् । यो राम्रो कुरा हो,’ उतले बताइन् ।