नेपालमा देखियो धेरै मानिसमा सर्ने जोखिमपूर्ण नयाँ भेरियन्ट

नेपालमा देखियो धेरै मानिसमा सर्ने जोखिमपूर्ण नयाँ भेरियन्ट


नेपालमा कोभिड-१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड-१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक (जिन स्क्विन्सिङ) जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पत्ता लगाएको हो । तीन प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको छ । चौँतीस नमूना परीक्षणमा नयाँ भेरियन्ट देखिएको र एक जनामा मात्र पुराना भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टलाई डब्लुएचओले सन् २०२१ मे १० मा भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । डा. अधिकारीले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण हुने जानकारी दिए ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको बबताए । उनका अनुसार नयाँ भेरियन्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ ।