सञ्चारकर्मीका लागि निर्माता पौडेलबाट १ लाख १ हजार सहयोग

सञ्चारकर्मीका लागि निर्माता पौडेलबाट १ लाख १ हजार सहयोग


कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाको पक्षमा उभिँदै चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेलसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रदेश अध्यक्ष पराजुलीले कोभिड १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगको लागी हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे ।

‘समग्र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरुप्रति कृतज्ञ छु ।’ उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।

कोरोनाको दोश्रो लहर आउनुपुर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकाएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सकृय छन् । उनले यसअघि चलचित्र ‘रुद्रप्रिया’ ‘राज्जा रानी’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् । पेशाले उनि सञ्चारउद्यमी पनि हुन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा कलम चलाउने १२ वटा संगठन आवद्ध छन् ।