नवलपरासीको सिमावर्ती क्षेत्रमा किन चल्यो गोली ?

नवलपरासीको सिमावर्ती क्षेत्रमा किन चल्यो गोली ?


प्रहरीको गोलीबाट एक युवकको मृत्यु

  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ६ को सिमा क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर घाइते भएका २२ वर्षीय अविनास रायको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते भएको रायलाई आज बिहान बुटवल लैजाँदा नै मृत घोषित गरिएको हो ।

कोभिड संक्रमण नियन्त्रणको लागि नेपाल, भारत अन्तर्राष्ट्रिय सिमा बन्द भएको अवस्थामा भारतबाट अवैध रुपमा सामाग्री ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रोक्ने प्रयास गर्दा अटेर गरेकोले गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीको दाबीअनुसार सिमापार भारत बहुवारबाट तीन व्यक्तिले अवैध सामाग्री ल्याउँदा रोक्ने प्रयास गरिएको थियो । प्रहरीले चलाएको गोली लागेर घाइते हुनेहरुमा ३० वर्षीय विनोद राय पनि रहेका छन् ।

गुठिप्रसौनिको कठहवा नाकाबाट अवैध सामाग्री ओसारपसार गर्ने क्रम बढेर गएपछि सुरक्षा निकायले पनि आफ्नो गतिविधिलाई सक्रिय बनाएको थियो । सिमानाकामा अवैधकर्मीलाई नियन्त्रण लिन खोज्दा केही स्थानीय व्यक्तिहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गर्दा आत्मरक्षाका लागि सशस्त्र प्रहरीले हवाइ फायर गर्दा एक व्यक्तिलाई गोली लागेको र एक व्यक्ति सामान्य घाइते भएको २६ नं. गणका गणपति महेश अधिकारीले बताएका छन् ।