दलमा समेटिनेहरूले राष्ट्रको भलो गर्न सक्दैनन् !

दलमा समेटिनेहरूले राष्ट्रको भलो गर्न सक्दैनन् !


  • स्वयम्भुनाथ कार्की

नेपालका नागरिकहरूको पहिलो परिचय नेपाली हो । उसले पाउनु पर्ने सबै अधिकार र गर्नुपर्ने सबै कर्तव्य नेपाली भएर पाउने वा गर्ने हो । एक नेपालीको अनेकौँ परिचय हुन्छ, जो समय–सन्दर्भ वा परिवेशअनुसार दोश्रो स्थानमा रहन्छ, तर पहिलो स्थानमा रहने परिचय त ‘नेपाली’ नै हो । त्यसैले देशभक्तहरूको पहिलो प्राथमिकता भनेको मुलुक र मुलुकको हित हो । यही आधारबिन्दुबाट सबै क्रियाकलापको मापन हुनु पर्दछ । कुनै दल वा राजनैतिक नेतासँग आवद्ध हुँदा पनि जो मुलुकप्रतिको आफ्नो प्राथमिकता छोड्न सक्दैन, बरु दल वा नेता छोड्न तैयार हुन्छ भने त्यो हो राष्ट्रवादी !

आफैलाई वा आफ्नो दललाई सर्वोपरि मान्ने अनि नेतालाई युगद्रष्टा, महामानव, अतिमानव, चट्टानी अडानको भनेर पूजा गर्नेहरू राष्ट्रको हैन त्यो व्यक्तिको चाकरी बजाउँदैछन् भनी बुझ्नुपर्छ । यो कुरा एकान्तमा आफ्नो अन्तरआत्मालाई न्यायाधीश मानेर निर्णय गर्न दिने हो प्रष्ट हुन्छ । किनभने, अन्तरआत्मालाई कुरो बुझाउन न कुनै वकिल चाहिन्छ न झुठ नै चल्छ । त्यसैले अन्तरआत्माको निर्णयअनुसार चल्नेहरू स्वाभिमानी हुन्छन् । यस्तै स्वाभिमानी देशभक्तहरूको सहकार्य हुनु आजको आवश्यकता हो । यो आवश्यकतालाई बिक्रीयोग्य बस्तु मानेर पसल खोल्नेहरू क्षणिक रूपमा भावनाको व्यापारमा सफल त हुन्छन् तर त्यो दिगो भने हुँदैन । एक स्वाभिमानी देशभक्त सबै कुरामा आँखा चिम्लेर कसैले बनाएको दलको अनुशासनमा समेटिँदैन र समेटिनु हुँदैन पनि ।

मुलुकको स्वतन्त्रता, स्वाभिमान र समुन्नतिलाई एक मात्र लक्ष्य मानेर समेटिने देशभक्तहरू कुनै दलको झण्डाले हैन कार्यगत एकताले जोडिनु पर्दछ । चुनाव चिन्ह, दलको नाम, दलको झण्डा सबैभन्दा महत्वको मान्ने लाछीहरूको जमातले राष्ट्रको भलो गर्ला भन्नु मृगमरिचिका हो । नेताले समुह जन्माउने परमुखापेक्षी सोचको विपरीत समूह र लक्ष्यले नेता आफैं पैदा गर्दछ भन्ने मान्यता ठिक हो । जो समूहका सबैलाई सन्तुष्ट बनाएर लक्ष्य भेदनतर्फ लाग्न सक्छ त्यो नै वास्तविक नेता हो । समुहको नेता हुनै पर्दछ भन्ने चलेको चलनअनुसार देशभक्तहरूले पनि कुनै नेताको आवश्यकता महसूस गरे । यो नै गलत भयो, त्यसैले अब यो बन्द हुनु पर्दछ ।

दलको अनुशासित कार्यकर्ताको हैन आफ्नो अन्तरआत्माको आवाज सुन्ने स्वाभिमानी नेपालीहरूको कार्यगत एकता आजको खाँचो हो । हरेक स्वाभिमानी नेपाली देशभक्त हुन्छ नै किनभने देशभक्त नभई त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन ।

सहयात्रा भनेको कसैलाई नेता मानेर त्यसको भजन गाउनु हैन, बाटो मिलुञ्जेल सँगै एकअर्कालाई सघाउँदै बढ्नु हो । यस कुरालाई एक सामान्य उदाहरणले अझ स्पष्ट गर्छ । कुनै चार व्यक्ति साइकल वा मोटरसाइकलमा काठमाडौबाट चार गन्तव्य विराटनगर, वीरगंज भैरहवा र धनगढी जाँदैछन् । नारायणघाटसम्म चारैजना एकैसाथ हुन्छन्, किनभने त्यहाँसम्म उनीहरूको गन्तव्ययात्राको मार्ग एकै हुन्छ । त्यसपछि सौहार्द्धपुर्ण तरिकाले पश्चिम जाने दुई र पुर्व जाने दुई छुट्टिन्छन् । यसैगरी, बुटवल पुगेर भैरहवा जाने र धनगढी जाने अनि पथलैया पुगेर वीरगंज जाने र विराटनगर जाने पनि छुटिन्छन् । अहिले मुलुकको पहिलो गन्तव्य भनेको नारायणघाटसम्म जस्तो हो । जहाँ नेपालले सुरक्षित महसूस गर्दछ, नेपालीले भविष्यको उज्यालो देख्न पाउँछन् । त्यसपछिका कार्यक्रमहरू सबैका अलग-अलग हुन सक्लान् जो एकैदलमा आवद्ध भएर सम्भव नहोला । कार्यगत एकता भनेको यही हो ।

लक्ष्य पुग्नु त कता हो कता प्रस्थानविन्दुमा पुग्नेवित्तिकै देखिएको व्यक्तिपूजा, घमण्ड र मेरै कुरा मात्र सही हो भन्ने व्यवहारले निराशाबाहेक केही दिएको छैन । दल खोल्ने र आफूसँग जोडिन नआउने जति सबै नक्कली र हिम्मत नभएका भन्ने रोगले आफूलाई राजावादी भन्न रुचाउनेहरूलाई ग्रस्त पारेको छ । चर्का कुरा गरेर गणतन्त्रवादीहरूले यस्ता समुहमा प्रभाव पारेको देखिन्छ । समुहमा अलि बलियो भयो भने हिजो राजावादी भएर संगठन गर्ने पत्यक्ष वा परोक्ष राजसंस्थाको खोइरो खन्न थाल्छ । यस्ता अनेकौँ कथित धार्मिककर्मी, राजनैतिककर्मी, सञ्चारकर्मीहरू सरकार र संविधानको आलोचना गरेर राजावादी भनाइनेहरूलाई जोत्नेहरू कयौँ सतहमा देखापरेका छन् ।

करिव तीन दशकमा नेपालमा नेपाली हुँ भन्ने भन्दा म फलाना दलको, फलाना समुदायको वा फलाना क्षेत्रको भन्ने धेरै हुँदैछन् । यो सोच नै नेपालको प्रमुख शत्रु हो । त्यसैले दलको अनुशासित कार्यकर्ताको हैन आफ्नो अन्तरआत्माको आवाज सुन्ने स्वाभिमानी नेपालीहरूको कार्यगत एकता आजको खाँचो हो । हरेक स्वाभिमानी नेपाली देशभक्त हुन्छ नै किनभने देशभक्त नभई त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन ।