निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सीमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
तरकारी लिन जाने गाडी बिहान ८ बजेभित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उनको भनाइ छ । थोक बजारमा अहिले झण्डै ४०० जना व्यापारीले व्यापार गर्दै आएका छन् । यस्तै अहिले दैनिक साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ । यसअघि दैनिक ९०० टनसम्म तरकारी आउने गरेको थियो ।
प्रतिक्रिया