स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि, सामाजिक सुरक्षा भत्ता मासिक चार हजार

स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि, सामाजिक सुरक्षा भत्ता मासिक चार हजार


सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक पाँच हजारसम्म भत्ता दिने उद्घोष गरे पनि यस वर्ष चार हजार गरिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा पनि बजेट वृद्धि गरेको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गत वर्ष भन्दा यस वर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि उहाँले दिनुभयो । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ भने कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिइएइको छ । सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।