किस्ताबन्दीमा पन्छाइए इश्वर पोखरेल

किस्ताबन्दीमा पन्छाइए इश्वर पोखरेल



प्रधानमन्त्री केपी शर्मा ओलीले इश्वर पोखरेललाई उपप्रधान तथा रक्षामन्त्रीबाट बिनाविभागीय मन्त्री, कोभिड-१९ लाई ब्यवस्थापन गर्न बनेको उच्चस्तरीय समितिका संयोजकबाट सदस्य गर्दै विस्तारै पन्छाएका छन् ।

२०७४ सालमा उपप्रधान तथा रक्षामन्त्री बनेका इश्वर पोखेललाई प्रधानमन्त्रीले रक्षामन्त्री पदमा रहेकै बेला ०७६ साल फाल्गुणमा बनेको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र निर्देशक समितिको संयोजक बनाएका थिए । आफू संयोजक भएका बेला स्वास्थ्य-सामाग्री खरिद घोटालामा मुछिएपछि उनी विवादमा आए । स्वास्थ्य मन्त्रालयमार्फत खरिद गर्न लागिएको स्वास्थ्य-सामाग्री मात्र नभइ नेपाली सेनामार्फत खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य-सामाग्रीमा पनि उनको नाम मुछियो ।

स्वास्थ्य-सामाग्रीमा मन्त्रीको हस्तक्षेपका कारण प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको बोलचाल नै बन्द भएको थियो । फास्ट ट्रयाक सडकलगायतका ठेक्कामा आफूले भनेजस्तो नगरेपछि मन्त्रालयमा भएको एक कार्यक्रममा नेपाली सेनालाई उनले ‘लकिरका फकिर’ भनेका थिए । उक्त कार्यक्रमबाट फर्किएलगत्तै प्रधानसेनापतिले प्रधानमन्त्रीलाई भेटी विभागीय मन्त्रीले सेनालाई सार्वजनिक स्थानमा ह्युमिलेट गर्ने काम गरेको गुनासो गरेका थिए । त्यसको केही दिनपछि पुनर्गठन भएको मन्त्रिमण्डलबाट इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाइ प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्री बनाइएको थियो । खासमा त्यो बिनाविभागीय मन्त्री पद थियो, तर उनको मानका खातिर प्रधानमन्त्री कार्यालय हेर्ने भनिएको थियो ।

रक्षामन्त्रीबाट हटे पनि इश्वर पोख्रेल सीसीएमसीको संयोजक कायम थिए । सीसीएमसीको संयोजकका रूपमा अक्सिजनको वितरणलाई आफ्नो मातहतमा राखेर न्यायोचित वितरण गर्न नसकेपछि उनी थप विवादमा मुछिए । स्वास्थ्य-सामाग्री खरिददेखि अक्सिजनसम्ममा उनले सर्वसाधारणमा आफूप्रतिको विश्वसनीयता गुमाउँदै आएका थिए । पछिल्लो चरणमा इश्वर पोखरेल सम्मिलत ठाउँबाट कुनै पनि काम निष्पक्ष हुन्छ भन्ने कुरामा सर्वसाधारणलाई विश्वास नै थिएन ।

सीसीएमसीको संयोजक रहुन्जेल उनी भएको बैठकमा प्रधानसेनापति अनुपस्थित हुन थालेपछि सीसीएमसीको संयोजकको कार्यभार प्रधानमन्त्री आफैले लिए । त्यसपछि पोखरेल सदस्य मात्रैमा सीमित रहे । सीसीएमसी सम्हाल्नका लागि कार्यकारी प्रमुखका रुपमा पूर्वजनरल बालानन्द शर्मालाई ल्याइयो । शर्मालाई सीसीएमसीमा लानुको कारणमध्येको एक इश्वर पोखरेलले नेपाली सेनाका अधिकरीहरूसँग गुमाएको ‘ट्रष्ट’ थियो । पोखरेलका कारण सेनाको तदारुकतामा कमी आउने निश्चित भएपछि शर्मालाई लगिएको बुझिन्छ । सीसीएमसीमा शर्माको नियुक्तिपछि कोरोना ब्यवस्थापनमा कुनै पनि प्रकारको घोटाला नहुने ठानिएको छ ।