नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि सन्तनेता एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईलाई बिर्सन नसकिनेमा जोड दिइएको छ ।
लोकतन्त्र संवाद केन्द्रले शुक्रबार जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक अन्तरक्रियामा विघटित प्रतिनिधिसभाका सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरिले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित हुनुभएको बताए ।
“किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो,” समाजवादी चिन्तक गिरिले भने ।
दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र थोत्रो ट्याङ्का लिएर निस्कनु नै उहाँको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिए भने पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुआत गर्नुभएको स्मरण गराए ।
कार्यक्रममा कृष्णप्रसाद भट्टराई फाउन्डेसनका महासचिव विनोदकुमार भट्टराईले किसुनजीका विषयमा हालसम्म प्रकाशित नभएका विषय राखेर पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सो अवसरमा पूर्वसांसद हीरादत्त भट्ट, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, डा. पूर्णकान्त अधिकारी, काठमाडौं कांग्रेसका नेता राजन केसी, केन्द्रका नारायण भट्टराई र प्रदीप शर्मालगायतले नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउन किसुनजीको योगदानका विषयमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया