प्रजातन्त्र र लोकतन्त्रपछि अब सनकतन्त्रीय अभ्यास !

प्रजातन्त्र र लोकतन्त्रपछि अब सनकतन्त्रीय अभ्यास !


प्रकृतिले वायुको नत्थी र जलको बन्धनमा नराखिदिएको भए मानिसजति अराजक र स्वच्छन्द प्राणी शायद प्रकृति स्वयम पनि हुने थिएन । प्रकृति एउटा नियममा चल्ने गर्छ, सौम्य र रमणीयता मात्र होइन उसको रौद्ररूप पनि नियमभित्रै पर्छ । शक्तिको अदम्य श्रोतको स्वामी भएर पनि प्रकृति नियमसम्मत ब्यवहार गर्दछ । ग्रहहरूले सूर्यलाई एकनास एउटै प्रक्रियाबाट घुम्ने, सौर्य परिवारले ग्यालेक्सीको चक्कर लगाउने र ग्यालेक्सीले ब्ल्याकहोलको फन्को मार्ने कार्यलाई प्रकृतिको नियमका रूपमा बुझ्नु उपयुक्त हुन्छ । कुनै तारा या ग्रहले अलिकति पनि नियम भङ्ग गऱ्यो भने सृष्टि क्षणभरमा भताभुङ्ग हुनसक्छ । नियममा चल्ने भएकैले कहाँ, कुन अवस्थामा, कहिले वर्षात हुन्छ र कहिले कस्तो प्रकारको प्राकृतिक स्थिति रहन्छ भनी मानिसले समेत थाहा पाउने भएका हुन् । तर, मानिसले मौका पाउँदा या सनक चढ्दा केसम्म गर्न सक्छ भन्ने कुराको चाहिँ पूरा अनुमान गर्न सकिँदैन । त्यसैले विवेकसमेत भएका मानिसले मानिसको ब्यवस्थापनका निम्ति नियम कानून र प्रणालीको परिकल्पना गरेका हुन् ।

शरीर र हाउभाउले उस्तै देखिने भएकाले प्राणीका रूपमा सबै मानिस बराबर हुन् भन्ने मानिन्छ । तर सबै मानिसमा विवेकीय गुण हुँदैन, विवेकीय गुणबिनाका मानिस पशु समान हुन्छन् । यस्ता मानिसमा खाने, सुत्ने, मैथुन गर्ने, आफ्ना निम्ति सङ्ग्रह गर्ने र लड्ने (झगडा गर्ने) पाँच गुण मात्र हुन्छन् र यिनै पाँच गुणको अधीनमा रहेर यिनको पुरै जिन्दगी बित्ने गर्दछ । विवेक छैठौं गुण हो, जुन मानिसमा हुनसक्छ तर सबैमा यो गुण हुन्छ भन्ने होइन । विवेकबिनाका मानिसले पशुवत जिन्दगी बिताउने हुनाले यिनका निम्ति नियम र कानूनको ब्यवस्था गर्नुपरेको हो र प्रजातन्त्र पनि मानिसकै ब्यवस्थापनका निम्ति परिकल्पना गरिएको राजनीतिक विचार हो । प्रजातन्त्रले सबै मानिसलाई बराबरी अवसर उपलब्ध गराउँछ र निरन्तर परिवर्तनको मानवीय स्वभावलाई सम्बोधन गर्ने क्षमता पनि प्रजातन्त्रमै रहन्छ । तर, प्रजातन्त्रको सफल प्रयोग त्यस्तो समाज या देशमा मात्र हुनसक्छ, जहाँ विवेकीय मानिसको अधीकता रहन्छ ।

प्रजातन्त्र कार्यान्वयनका निम्ति सम्विधान र कानूनको निर्माण गरिन्छ, अनि ब्यवस्थापकीय दायित्व निर्वाह गर्नका निम्ति आवधिक निर्वाचनमार्फत कार्यकारी निकाय खडा गरिन्छ । निर्वाचित प्रतिनिधि या सरकारले देश समाज र जनताको हित सुनिश्चित गर्न नसक्दा त्यसलाई कसरी बदल्ने या विस्थापित गर्ने भन्ने स्पष्ट प्रावधान पनि सम्विधान र कानूनमा समेटिएको हुन्छ । संवैधानिक र कानूनी प्रक्रिया भन्दा बाहिर सडक अर्थात् सङ्घर्षबाट परिवर्तन खोज्नुपर्ने स्थिति उत्पन्न हुँदै नहोस् भनेर स्थापना गरिएको प्रजातन्त्रमा पनि मानिसले सरकार बदल्नका निम्ति सडक सङ्घर्ष गर्नुपर्ने हुन्छ भने त्यस्तो मुलुकमा या त जङ्गली चेतका मानिसको बाहुल्य रहेको भनेर बुझ्नुपर्ने हुन्छ, या प्रणालीमै कहीँ सुधारयोग्य खोट रहेको हुनसक्छ या देखिने प्रणाली र पात्र भन्दा पछाडिपट्टी निर्णायक तहमा कुनै अदृष्य शक्तिको भूमिका प्रधान रहेको भनेर बुझ्न सकिन्छ । जङ्गलीचेत भन्नाले नियम-कानूनभन्दा माथि बल अर्थात् शक्ति रहेको मान्नु र बलकै आधारमा आफ्नो अनुकुल अवस्था सिर्जना गर्न खोज्ने प्रवृत्ति हो । जङ्गलमा जो बलियो हुन्छ उसकै शासन चल्छ, उ भन्दा बलवान् अर्को प्रकट नहुँदासम्म शासक परिवर्तन हुने गर्दैन र यही क्रमले निरन्तरता पाइरहेको हुन्छ । शक्तिशालीको इच्छामा जङ्गलको दैनिकी निर्धारण हुनेगर्छ, त्यहाँ बलशालीको सनकबाहेक अर्को कुनै नियम कानूनले काम गर्दैन ।

नेपालमा हामीले पटक-पटक प्रजातन्त्र स्थापना गरेर पनि चल्न नसक्नुको एउटा प्रमुख कारण शासक र शासित दुवैथरी जङ्गली चेतबाट मूक्त हुन नसक्नुलाई मान्न सकिन्छ । अर्को प्रमुख कारण यो देशमा आफू अनुकुल सत्ता र सरकार निर्माण गर्ने बाह्यशक्ति बीचको होडबाजीलाई मानिन्छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आधुनिक नेपालको स्थापना गर्नुभएयताको अधिकाङ्श समय हामीले सत्ता सङ्घर्षमै बिताएका छौँ । माओवादीले बहुदलीय संसदीय प्रजातन्त्रविरूद्ध हिंसात्मक विध्वङ्श गरेर लोकतन्त्रका नाममा स्थापना गरेको पनि बहुदलीय संसदीय प्रजातन्त्र नै हो र पुरानो प्रणाली तथा पात्रलाई विस्थापन गरेपछि सबै समस्याको समाधान हुनसक्छ भन्ने भ्रम सिर्जना गर्दै आएकाहरूले यतिबेला अभ्यास गरिरहेको प्रणाली पनि बहुदलीय र संसदीय नै हो ।

२०४६ को परिवर्तन भन्दा अगाडि करिब तीन दशकसम्म हामीले सक्रिय राजासहितको दलविहीन प्रजातन्त्र अवलम्बन गरेका थियौँ । त्यसअघिको एक दशक पनि बहुदलीय प्रजातन्त्रकै नाममा बिताएका थियौँ । प्रणाली बदलेर जुन प्रकारको प्रजातन्त्र स्थापना गरेको भएपनि हाम्रा सोच र ब्यबहार बदलिएनछ । हिजो इतिहासको एउटा कालखण्डमा पाँडेहरूको शासन चल्थ्यो, पाँडेहरूलाई परास्त गर्दै थापाहरू शासक भूमिकामा प्रकट भए । आफू शासनमा आएपछि पाँडे लगायतका विरोधीहरूलाई थापाहरूले देशमा बाँच्नसम्म पनि नमिल्नेगरी खेद्ने काम गरे । तीस वर्षसम्म थापाहरूको शासन चल्यो, दरबारभित्रको सत्ता षड्यन्त्रका कारण थापाहरू मर्नुपर्ने या भाग्नुपर्ने स्थितिमा पुगे र अकल्पनीय ढङ्गबाट जङ्गबहादुरको अगुवाईमा राणाहरूको शासन सुरु भयो । जङ्गबहादुरको कार्यकाल नेपाली राष्ट्रियताका निम्ति फलदायी रहेपनि सत्ता प्रतिकुल भूमिकाका पात्रहरूले १०४ वर्षसम्म प्रताडित भएरै रहनुपरेको थियो । २००७ सालमा नयाँदिल्ली हुँदै डोलीमा प्रजातन्त्र भित्र्याइएपछि पनि शासक भूमिकाका मानिसको ब्यवहारमा नयाँपन आम मानिसले महसूस गरेनन् ।

हिजो राणाहरूको भावभङ्गिमा जस्तो प्रकारको देखिन्थ्यो विपक्षीहरूप्रति नयाँ शासकहरूको ब्यवहारमा कुनै अन्तर देखिएन । निर्दलीय पञ्चायतले पनि शर्तरहित प्रजातन्त्रको अभ्यास गरेको पाइएन । राजाको सक्रिय नेतृत्व र निर्दलीयताप्रति असहमति जनाउनेहरूले त्यस्तै अवस्थाको सामना गर्नुपऱ्यो, जस्तो पाँडे शासनमा थापाले, थापा शासनमा अरुहरूले र राणाकालमा उनीहरूको कार्यशैलीप्रति बिमति जनाउनेहरूले ब्यहोर्नुपरेको थियो । बहुदलीय प्रजातन्त्रसमेत सबैको साझा बन्न कतिपय अर्थमा सकेन । सत्तापक्षका निम्ति अवसरको बाढी, विपक्षी जतिसुकै योग्य र इमान्दार भएपनि दोस्रो दर्जाको नागरिक सरह उपेक्षित भैरहनुपर्ने नियति प्रजातन्त्रमा पनि देखियो, भोगिदैछ । भान्से र तिनले रुचाएका मानिसले मात्र खान पाउने, परिवारका बाँकी सदस्यले अवसरका निम्ति पाँच वर्ष पर्खनुपर्ने भएपछि प्रजातन्त्र सबैका लागि र सधैका निम्ति हुन सकेन, हुनसक्ने देखिएन ।

जननिर्वाचित सरकारलाई माहुरीको गुडमा झैँ सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा आगो झोस्दै भगाएर आउनेहरूको सरकार यतिबेला मुलुकमा छ । सम्भवतः पुनः अरु कसैले आगो लगाएर नभगाएसम्म यिनकै राज चलिरहनेछ, किनकि अर्को आवधिक निर्वाचनसम्म पर्खनु हुँदैन र पर्खनु पर्दैन भन्ने सन्देश वर्तमान सरकारधारीहरूले नै दिइसकेका छन् । पुरानो मान्छे अयोग्य र पुरानो तरिका एवम् शासनशैली गलत भन्दै मान्छेको ध्यान आफूतिर आकर्षित गरेर सरकार सञ्चालनको उच्च जिम्मेवारी पाउन सफल भएकाहरूले सम्विधान, नियम र कानूनभन्दा माथिको ब्यवहार देखाइरहेछन् । सत्ता पाउन हिंसा र दादागिरी गर्नेहरू राजकाज पनि ठ्याक्कै त्यही शैलीमा गर्दैछन् । लहड या सनकमा आफूलाई लागेको काम गर्न संविधान र कानूनले बाधा नपुऱ्याए विधि मान्ने र विधि बाधक बने विधिसमेत लत्याएर काम लिने जुन शैली कथित नयाँहरूले अवलम्बन गरिरहेका छन् यसले संसारका कुनैपनि तानाशाही सत्तालाई माथ गरेको छ ।

कालो चस्माभित्र शिकारी आँखा लुकाएर हेर्ने, कालो मनलाई कालै बस्त्रले बेरेर छोप्ने, रचनात्मकता शुन्य र बिध्वङ्सकता प्रधान कार्य-ब्यवहार प्रस्तुत गर्ने, भीमसेन थापाकै शैलीमा सर्वसाधारण मानिस र विपक्षीहरूप्रति निर्दयी ब्यवहार गर्ने, निश्चित जातीय र धार्मिक समुदायप्रति बैरभाव राख्ने, राज्यको मर्यादा र पारम्परिक मान्यताहरूलाई जङ्गली सुङ्गुरको शैलीमा उधिन्ने र भत्काउने, आलोचना सुन्न किन्चित नचाहने, आफूलाई चुनौती दिन खोज्ने हरेकलाई चङ्गेज खाले झैँ प्रतिशोध लिने तर इदी अमिनले झैँ विरोधीहरूको मुटु निकालेर खाइहाल्ने कामचाहिँ नगर्नेहरूको शासन यतिबेला हामी नेपालीहरू ब्यहोर्दै छौँ । पात्र फेरिए, प्रवृत्ति फेरिएको महसूस हामीले गर्न पाएका छैनौँ, शासक फेरिए तर सास्ती फेरिएन, बरू गम्भीर प्रकृतिका राष्ट्रिय सङ्कट निम्त्याइने खतराका सङ्केतहरू देखापरेका छन् ।

पृथ्वीमा राज्यहरूको विकास भएयताका हज्जारौं वर्षको इतिहासमा पहिलोपटक संसदमा उभिएर ‘हामीले छिमेकीको जग्गा मिचेका छौँ’ भन्ने प्रधानमन्त्री पायौं । अब छिमेकीसँग साध सीमानाको मुद्दालाई लिएर छलफल नै गर्न नसकिने गरी कुराको किनारा लागेको छ । धनाढ्यहरूको घर जलाएर यो देशमा धनिहरू सूरक्षित रहन सक्दैनन् भन्ने सन्देश दिएर सरकारमा आएकाहरूले ब्यवशायीहरूमाथि सुरु गरेको धरपकडका कारण ब्यवशायीहरूमा आतङ्क मच्चिएको छ, हज्जारौंले देश छोडिसकेका छन् । आफूहरू बाहेक सबैको सम्पत्तिमाथि शुद्धिकरणको डण्डा चलाउनेहरूले निजी क्षेत्रलाई थप आतङ्कित तुल्याउन उनीहरूमाथि समेत अख्तियार दुरुपयोगको आँखालाग्ने परिस्थिति निर्माण गर्न खोजिँदैछ । उता गरीब र सुकुम्बासीहरूलाई यसरी लखेटिएको छ कि तिनलाई नेपाल आफ्नो देश नभएको अनुभूति गराउन खोजिँदैछ ! कर्मचारी प्रशासनलाई कार्यमुखी बनाउन आवश्यक थियो, तर प्रशासनभित्र भाँडभैलो मच्चाएर ‘म नै राज्य हुँ’ भन्ने लुईकालीन अभ्यासको पुनरावृत्ति वान्छनीय थिएन, होइन ।

हो, हिजो (जेनजेडको नाममा भएको बिध्वङ्सभन्दा अगाडिको समय) लोकतन्त्रको नाममा कर्मचारीको शासन थियो, त्यसलाई सुधार गर्दै जनभावनाअनुरुप कानूनी शासनको अभ्यास हुनुपर्नेमा कर्मचारी हाबी भएको लोकतन्त्रको स्थानमा बर्दीधारीले स्पेस पाउने अभ्यास भएको महसूस गरिँदैछ । यो भन्दापनि खतरनाक पक्षचाहिँ राजकाजको काममा बाह्यशक्तिको भूमिकालाई अधिक महत्व दिँदै जाने परिस्थिति सिर्जना गरिएको छ । भारतसङ्गको सुपुर्दगी सन्धि गर्ने क्रममा संसद्लाई छल्न टनकपुर प्रकरणमा गिरिजाप्रसादले अपनाएको काइते शैलीलाई समेत माथ गर्दै जुन तरिका अपनाइयो यसले यिनिहरू राष्ट्रविरूद्ध जुनसुकै स्तरको अपराध गर्न पनि तयार रहेको प्रमाणित गर्न खोज्दैछ ।

कथित नयाँहरूको अराजक क्रियाकलापले नेपालबाट पलायन हुनेहरूको सङ्ख्या मात्र बढाएको होइन अन्ततः राष्ट्रिय सार्वभौमिकता र अस्मिता नै सङ्कटग्रस्त अवस्थामा पुऱ्याइदिएको छ । हामीले विभिन्न कालखण्डमा अभ्यास गरेको प्रजातन्त्र, लोकतन्त्र र निरङ्कुशतन्त्र बीच सारभूत अन्तर भेटिन्न । शासक र प्रणाली जस्तो भएपनि हामीले सम्पूर्ण समस्याको समाधान ब्यक्तिबाट हुने ठान्दै आएका छौँ । संविधान, कानून, प्रणाली, ब्यवस्था र सस्थागत प्रक्रियाभन्दा ब्यक्तिमाथि भरोसा राख्ने हाम्रो चेतमा परिवर्तन नआएसम्म यो मुलुकमा प्रजातन्त्र सफल हुन सम्भव छैन । निरङ्कुशता विस्थापित गरेर स्थापित गरिएको प्रजातन्त्र र प्रजातन्त्र विस्थापित गरेर ल्याइएको लोकतन्त्र भन्दा पनि वर्तमानमा हामीले भोगिरहेको सनकतन्त्र ज्यादा खतरनाक रहेकामहसूस गरिँदैछ । यिनको कार्यब्यवहार मुलुकमा गृहयुद्ध निम्त्याउनेतर्फ अग्रसर छ, देशमा देश बचाउनुपर्छ भन्ने नेपाली कोही छन् भने तिनले ढिला नगरिकन एकतावद्ध हुन प्रयास गर्नुपर्ने समय आएको छ ।

हो, हिजो हामीले प्रजातन्त्रको मुद्दा उठाउँदा राष्ट्रियताको महत्व लत्यायौँ र राष्ट्रियताका मुद्दा उठाउदा पनि प्रजातन्त्रलाई ओझेल पार्ने कार्य गरेका हौँ । यतिबेलाचाहिँ आँखा बन्द गरेर राष्ट्र र राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिनैपर्ने समय आएको छ, होइन भने नेपाली राष्ट्रियता र प्रजातन्त्रको अन्त्यष्टि एकसाथ हुने समय निकट बन्दैछ, समयको गम्भीरतालाई बुझौँ, जय मातृभूमि !!