धुलिखेलमा फकाएर भक्तपुरमा करणी, सुन्धाराबाट अभियुक्त पक्राउ

धुलिखेलमा फकाएर भक्तपुरमा करणी, सुन्धाराबाट अभियुक्त पक्राउ


पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई रहेको प्रहरीले जनाएको छ ।

धुलिखेल नगरपालिका-८ की १५ वर्षीया बालिकालाई ललाइफकाइ भक्तपुर नगरपालिका-४ स्थित एक गेष्ट हाउसमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका अनुसार चौलागाईंले पीडित बालिकालाई धुलिखेलबाट घुम्न जाउँ भनी फकाएर गत असार ५ गते भक्तपुरको गेष्ट हाउसमा लगी जबर्जस्ती करणी गरेको पीडित बालिकाको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो ।

गत असार ५ गते बिहान १० बजे बालिकाकी आमाले बालिका हराएको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंको प्रहरी टोलीले आइतबार बालिकालाई सुन्धारामा फेला पारेको थियो । बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईंले ललाइफकाइ घुम्न जाउँ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबर्जस्ती करणी गरेको बयान दिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।