सम्पत्तिका कारण नाता-सम्बन्ध धरापमा

सम्पत्तिका कारण नाता-सम्बन्ध धरापमा


भनिन्छ- जहाँ कङ्गाल त्यहाँ चण्डाल ! अर्थात्, गरिबीले झगडा निम्त्याउँछ । तर, यस धारणाको विपरीत धन-सम्पत्तिका कारण विवाद र झगडा बढेको उदाहरण यत्रतत्र प्रशस्तै पाइन्छन् । विश्वमा धनी परिवारका ४१ प्रतिशत व्यक्तिबीच धनसम्पत्तिको विषयमा झगडा हुने गरेको तथ्याङ्क छ । भारतमा त झन् ६१ प्रतिशत घर-परिवारमा नगद र सम्पत्तिकै कारण झगडा र मुद्दा चल्ने गरेको एक अध्ययनले देखाएको छ । सम्पत्तिकै कारण नाता-सम्बन्धमै आँच आएको अवस्था सिंगापुरमा ५३ प्रतिशत, हङकङमा ५१ प्रतिशत, मोनाकोमा ५१ प्रतिशत र कतारमा केवल ११ प्रतिशत र कतारमा केवल ११ प्रतिशत रहेको छ । यसरी धन-सम्पत्तिका कारण पारिवारिक सम्बन्धमा आँच आएको अवस्था एकातिर ६ भने विश्वका ३५ प्रतिशत धनी व्यक्तिहरू आफ्ना सन्तानले सम्पत्ति सम्हाल्न सक्नेमा शङ्का व्यक्त गर्दछन् ।

अब पानीबाट गुड्ने भयो कार
पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकाशिएको वर्तमान अवस्थामा मेरठ (भारत) का एक इन्जिनियरले पानीबाट चल्ने कार विकास गरेको दाबी गरेका छन् । राकेश गुप्ता नामक इन्जिनियरले दाबी गरेअनुसार उनले ब्राउन ग्यास सिद्धान्तमा आधारित यस्तो उपकरण निर्माण गरेका छन् जसलाई सम्बन्धित इन्जिनका नजिक फिट गरिन्छ र इन्जिन चालू हुनेबित्तिकै यसले आफ्नो काम सुरु गर्छ । ‘एक्वा-अक्सी-ए’ नाम दिइएको सो उपकरण प्रयोग गरेर उनले पाँच वर्षदेखि फोर स्ट्रोक काइनेटिक नोवा स्कुटरका अलावा एउटा मारुती कार र डिजल इन्जिनवाला इण्डिकासमेत सफलताका साथ चलाएका छन् । यो उपकरण प्रयोग गरिएको गाडीमा पानीको उपकरण अलग्गै फिट गरिन्छ र पेट्रोलको लाइन बराबर पानीको लाइन पनि बाहनको कार्बोरेटरमा पठाइन्छ । कुनै पनि पेट्रोल या डिजेलवाला गाडीमा सजिलै फिट गर्न सकिने यस उपकरणले इन्जिनमा कुनै क्षति नपुर्‍याउने दाबी पनि गुप्ताले गरेका छन् । यसको प्रयोगले इन्जिन चिसो रहने हुँदा इन्जिनको आयु बढ्ने र वातावरण प्रदूषण कम हुनुका साथै ३०-३५ हजारको खर्चमै यो प्रयोग गर्न सकिने पनि बताइएको छ ।

महिलाले खाँदा पुरुषलाई खतरा
इच्छा नगरिएको गर्भबाट बच्नका लागि महिलाले गर्भ निरोधक चक्की सेवन गर्ने प्रवृत्ति विश्वभर मौलाएको छ । तर, महिलाले प्रयोग गर्ने गर्भनिरोधक औषधिका कारण पुरुषलाई प्रोस्टेट क्यान्सर लाग्ने सम्भावना बढ्ने एक अध्ययनले देखाएको छ । पुरुषमा प्रोस्टेट क्यान्सर र सो औषधिको सम्बन्धबारे शङ्का गरेर वैज्ञानिकहरूले अनुसन्धान सुरु गरेका थिए । क्यानाडाको टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार उल्लेखित दुई तत्त्वबीच महत्त्वपूर्ण सम्बन्ध रहेको हुन्छ । उनीहरूको मान्यता छ कि गर्भनिरोधक औषधि सेवन गर्ने महिलाको पिसाबबाट निस्कने ‘ओस्ट्रोजेन’ले खाद्य शृङ्खला तथा पेयजललाई दूषित तुल्याउन सक्छ । यो हार्मोनले कुनै खास तरिकाबाट क्यान्सरलाई पोषण गरिदिन्छ । तथापि, सम्बन्धित अनुसन्धानकर्ता वैज्ञानिकहरू डा. डेभिड मार्गेल र नील फ्लेसनरले यो पनि भनेका छन् कि अध्ययनले उक्त औषधि र प्रोस्टेट क्यान्सरबीच सम्बन्ध छ भन्ने मात्र देखाएको हो, किटान गरेर क्यान्सर लाग्छ नै भन्ने प्रमाणचाहिँ जुटिसकेको छैन ।

बालबालिका पनि फेसबुकमा मस्त
विश्वभरका सातदेखि १० वर्ष उमेर समूहका करिब १० लाख बालबालिका फेसबुकको लतमा परेका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, हालै गरिएको एक र्सर्भेक्षणले यही निष्कर्ष निकालेको छ । लन्डनबाट प्रकाशित हुने ‘र सन्’ पत्रिकाका अनुसार करिब नौ लाख ७० हजार बालबालिका नियमित रूपले उक्त साइटको प्रयोग गर्छन् भने कम्तीमा पनि ४६ प्रतिशत बच्चाको कथत चाहिँ कहिलेकाहीँ मात्र फेसबुक खोल्ने गरेको भन्ने छ । फेसबुक प्रयोग गर्नेहरूमा १० देखि १२ वर्ष उमेरका किशोरीको सङ्ख्या बढी छ । आफ्नो साथीहरूको आग्रहका कारण उनीहरू यसरी फेसबुकको प्रयोग र लतमा पर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

बेरोजगार युवकको यो कस्तो स्वभाव !
कुनै पनि बेरोजगार युवकको चाहना सामान्यतया रोजगारीको एउटा राम्रो उपाय खोजेर मात्र बिहेवारी गरी घर बसाउने हुन्छ । तर, बेलायतका जेमी कुमिङ नामक युवक बेरोजगार छन् तर उनको प्राथमिकतामा कुनै ‘जब’ होइन नयाँ-नयाँ युवती मात्र पर्दछन् । यही स्वभावका कारण ३४ वर्षीय जेमीले अहिलेसम्म १४ युवतीसँगको सम्बन्धबाट १५ वटा सन्तान जन्माइसकेका छन् । तीन साताअघि मात्र १९ वर्षीया पत्नीबाट पन्ध्रौँ सन्तान जन्माएका जेमी आगामी जनवरीमा सोह्रौँ र त्यसको केही महिनामै सत्रौँ बच्चाका पिता बन्ने प्रतीक्षामा छन् । १९ वर्षीया चेल्सिया नामक युवती उनकी पन्ध्रौँ पे्रमिका हुन् जसबाट छिट्टै उनलाई सोह्रौँ बच्चा प्राप्त हुँदै छ । सत्रौँ बच्चा जन्माउन लागेकी अर्की किशोरीको उमेर झनै कम रहेको ‘डेली मेल’ले जनाएको छ ।
जिमी सरकारबाट बेरोजगार भत्ता लिन्छन् भने उनका अधिकांश पत्नी र सबै सन्तान पनि सरकारी सहायतामै निर्भर छन् । छोराको यो चाल देखेर उनकी आमा लौरेने हैरान छिन् । जेमीलाई ‘यौन सिकारी’ उपनाम दिएकी लौरेनेले किशोरी उमेरका स्त्रीलाई फसाउने र काम नगर्ने आफ्नो छोराको व्यवहारबाट आफू निराश बनेको बताइन् । उससँग आफूले बोलचाल बन्द गरे पनि माया भने लाग्दोरहेछ भन्ने उनको कथन छ ।