एमाले केन्द्रीय कमिटीको बैठक शुरु, वामदेव पनि बैठकमा सहभागी

एमाले केन्द्रीय कमिटीको बैठक शुरु, वामदेव पनि बैठकमा सहभागी



नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दलको नवौँ महाधिवेशनपछिको १३औँ केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाललगायत नेताहरु अनुपस्थित रहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल यतिबेला स्वास्थ्योपचारका लागि भारतमा छन् ।

पार्टीका कुनै खेमामा नरहेका उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित भएका एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)सँगको एकतापूर्वको केन्द्रीय कमिटीमा माओवादीबाट आएका नेता रामबहादुर थापालगायतलाई समावेश गरी आजका लागि बैठक आयोजना गर्ने निर्णय यही असार १६ गतेको आयोजक कमिटी बैठकले गरेको थियो । पार्टीभित्र असन्तुष्ट पक्षसँग दोस्रो तहका नेताको अनौपचारिक वार्ता जारी रहे पनि अन्य सहमति खोज्ने पहल भइरहेको जनाइएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र)सँगको एकतापूर्वको संरचनामा पार्टीलाई सञ्चालन गर्न आफू तत्पर भएको घोषणा गरेका थिए । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेता नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन् । बैठक आह्वान भएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवादमा गृहकार्य गरेर बैठक आयोजना गर्न नेता नेपालले प्रस्ताव गरेका थिए ।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न आज आयोजक कमिटीको बैठक तय गरेको थियो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल पक्षले असन्तोष जनाउँदै आएको छ ।