सुदामादेखि धृतराष्ट्रसम्म

सुदामादेखि धृतराष्ट्रसम्म



कुनै पनि बेला हुन सक्ने कुरा

  • बबिता बस्नेत

भगवान् श्रीकृष्णका साथी सुदामा शारीरिक अपाङ्गता भएका ब्यक्ति थिए । उनले जीवनपर्यन्त कृष्णको साथ छोडेनन् । शारीरिक अपाङ्गता भएका कारण कृष्ण अन्य साथीहरूलाई भन्दा सुदामालाई बढी महत्व दिनुहुन्थ्यो । कृष्ण र सुदामाको कथाले मूलतः तीन वटा सन्देश दिएको छ- पहिलो, अपाङ्गता भएका ब्यक्तिहरूलाई प्राथमिकतामा राख्नुपर्छ । दोश्रो, अपाङ्गता भएका मानिसहरूप्रति संवेदनशील हुनुपर्छ । तेश्रो, सुदामा जस्ता ब्यक्तिहरूबाट हत्तपत्त मित्रतामा धोखा हुँदैन । महाभारतमा धृतराष्ट्र जन्मदै दृष्टिविहीन थिए । राजा सन्तनुका उत्तराधिकारी राजा बिचित्रविर्य र रानी अम्बिकाका जेष्ठपुत्र (अवधारणात्मक रूपमा बिचित्रविर्य र प्राविधिक रूपमा वेदब्यासका छोरा) भएका कारण रोलक्रममा धृतराष्ट्र हस्तिनापुरको राजा हुनुपर्ने थियो । तर दृष्टिविहीन भएका कारण उनलाई राजा हुनबाट वञ्चित गरी उनका भाइ पाण्डुलाई राजा बनाइयो । दृष्टिविहीन भएकै कारण राजा हुनबाट वञ्चित गरिनु धृतराष्ट्रमाथि गरिएको अन्याय थियो ।

आफूमाथि भएको भेदभावले धृतराष्ट्रलाई भित्रभित्रै विद्रोही बनायो । सबैतिरबाट जिन्दगी ठिकठाक चलेका र न्यायपूर्ण जीवन बाँचिरहेका मानिसहरू विद्रोही बन्दैनन् । कुनै पनि मानिसलाई विद्रोही बनाउने उसले भोगेको अन्यायले हो । न्यायपूर्ण समाजमा विद्रोहका स्वर सुनिदैनन् । राजाका सन्तान भएकाले धृतराष्ट्र बाहिर आवाज निकाल्न सक्दैनथे, भित्रभित्रै पीडाले जल्दा उनभित्र नकरात्मक सोचले जन्म लिन पुग्यो । आफैभित्र जटिलताहरू भरिँदै गए, जसले उनीभित्र असुरक्षा पैदा गऱ्यो । पाण्डुको मृत्युपछि धृतराष्ट्र राजा त बने तर युवा अवस्थामा आफूमाथि भएको विभेदले उनलाई नकरात्मक बनाइसकेको थियो । दुर्योधन महाभारतका नकारात्मक भूमिकामा रहेका पात्र हुन् तर ‘फेयर जजमेन्ट’ गर्ने हो भने पुस्तैनी रोलक्रममा उनका बाबु धृतराष्ट्र र धृतराष्ट्रपछि दूर्योधन नै राजा हुनुपर्ने थियो ।

राजा हुनुपर्ने धृतराष्ट्रमाथि दृष्टिविहीन भएकै कारण महाभारतकालमा अन्याय भएको थियो । अहिले अपाङ्गता भएकै कारण यो देशका करिव दुई प्रतिशत मानिसहरू विभिन्न अवसरबाट वञ्चित भएका छन् । उनीहरूमाथि राज्य, समाज, परिवार, आफन्त, नातेदार सबैले कुनै न कुनै रूपमा भेदभाव गरेका छन् । कुनै पनि प्रकारको भेदभाव अन्याय र हिंसा दुवै हो । कतिपय मानिसले भनेको सुनिन्छ, अपाङ्गता भएका मानिसहरू नकरात्मक हुन्छन् । हरेक मानिसमा नकारात्मक र सकारात्मक दुवै सोच हुन्छ । हुर्काइ, वातावरण, अवसरलगायतका कुराले मानिसको सोचलाई कता लाने निर्देश गरिरहेको हुन्छ । भेदभाव र अभावले मानिसलाई नकरात्मक बनाउँछ ।

सबैतिरबाट जिन्दगी ठिकठाक चलेका र न्यायपूर्ण जीवन बाँचिरहेका मानिसहरू विद्रोही बन्दैनन् । कुनै पनि मानिसलाई विद्रोही बनाउने उसले भोगेको अन्यायले हो । न्यायपूर्ण समाजमा विद्रोहका स्वर सुनिदैनन् ।

कुनै पनि मानिस म नकरात्मक नै बनुँ भनेर नकरात्मक बन्दैन उ वरिपरिको वातावरणले उसलाई त्यस्तो बनाइरहेको हुन्छ । हरेक साङ्ग (अपाङ्गता नभएका) मानिसहरू सकारात्मक छैनन् न त अपाङ्गता भएका सबै मानिस नकारात्मक छन् । मानिसैपिच्छे प्रवृत्तिहरू फरक हुने हुँदा कुनै पनि मानिसलाई एकै ठाउँ राखेर मूल्याङ्कन गर्न मिल्दैन, हुँदैन । न त महिला सबै उस्तै छन् न त पुरुष, न त अन्य लिङ्गी या कुनै पनि जातजाति या क्षेत्र समूदायका मानिसहरू । कुनै पनि मानिसलाई एउटै परिभाषामा समेट्न सकिँदैन, समेट्न मिल्दैन ।

वि.सं. २०६८ को जनगणनाले अपाङ्गता भएका मानिसहरूको संख्या १.९४ प्रतिशत देखाए पनि सबै मानिसमा कुनै न कुनै रूपको अपाङ्गता हुन्छ । के कुरा सामान्य हो र के होइन, के अपाङ्ग हो, के साङ्ग, प्रकृतिले नभइ मानिस आफैले निर्धारण गरेको कुरा हो । हामी सबैमा कुनै न कुनै प्रकारको कमी छ । बाहिरबाट हेर्दा योसँग त सबै कुरा छ जस्तो देखिए पनि यो संसारमा कुनै पनि मानिस पूर्ण छैनन्, हुँदैनन् । शास्त्रमा भनिएको छ- जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी या भनौँ पूर्ण हुन्छन् । विद्या, असल जीवनसाथी, नियमित पैसा आउने गरी खाने ठाउँ, राम्रो स्वास्थ्य र आज्ञाकारी सन्तान । तर यी पाँच कुरा एउटै मानिसको जीवनमा हुन गाह्रो छ । यसमध्ये पनि ‘स्वास्थ्य’ मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो । शारीरिक र मानसिक स्वास्थ्यले हाम्रो शरीर, मन र मष्तिष्कलाई असर पारिरहेको हुन्छ । शारीरिक र मानसिक यी दुई समस्या जन्मदै या पछि कुनै पनि बेला जीवनमा आउन सक्छन् ।

अपाङ्गता भएका मानिसलाई अङ्ग्रेजीमा ‘डिसएवल’ भन्ने गरिएको छ । वास्तविकता त के हो भने हामी कोही पनि सबै कुरामा ‘एवल’ छैनौँ । कुनै पनि बेला मृत्युको सम्भावना बोकेका हामीमध्ये कोही पनि अपाङ्ग हुने सम्भावनाभन्दा बाहिर छैनौँ । कुनै पनि समय दुर्घटनामा पर्न सक्छौँ, कुनै पनि बेला जे पनि हुन सक्छ । तर अपाङ्गता भएका ब्यक्तिहरूलाई गर्ने हाम्रा ब्यवहारहरू कुनै पनि समय मेरो परिस्थिति यस्तो हुन सक्छ भन्ने प्रकारको छैन । भौतिक संरचनाहरूको निर्माणदेखि दृष्टिकोणसम्ममा हामीले त्यसरी सोच्ने गरेका छैनौँ । शारीरिकभन्दा मानसिक र मनोवैज्ञानिक समस्या हामीकहाँ बढी छ ।

राजा हुनुपर्ने धृतराष्ट्रमाथि दृष्टिविहीन भएकै कारण महाभारतकालमा अन्याय भएको थियो । अहिले अपाङ्गता भएकै कारण यो देशका करिव दुई प्रतिशत मानिसहरू विभिन्न अवसरबाट वञ्चित भएका छन् । उनीहरूमाथि राज्य, समाज, परिवार, आफन्त, नातेदार सबैले कुनै न कुनै रूपमा भेदभाव गरेका छन् । कुनै पनि प्रकारको भेदभाव अन्याय र हिंसा दुवै हो ।

नेपालको संविधान २०७२ को समानताको हकमा भेदभाव गरिने छैन भन्ने कुरामा शारीरिक अवस्था, अपाङ्गता र स्वास्थ्यस्थिति तीनवटै कुरा परेको छ । मुलुकले अङ्गिकार गरेको समाजिक समावेशीकरणको नीतिमा ‘अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ’ भनिएको छ । तर ब्यवहारमा हेर्ने हो भने सार्वजनिक यातायातमा एउटा दुई वटा सिट छुट्याए पनि अपाङ्गता भएका मानिस देख्दा उनीहरूभित्र छिर्लान् कि भनी हतार–हतार गाडी हुइँक्याउने गरिन्छ । ह्वील चेयरमा आउँदै गरेको मानिस देखेपछि त्यसरी गाडी दौडाएको धेरै पटक यो पङ्क्तिकारले देखेको छु ।

भाडामा बस्नका लागि घर पाउन त्यतिकै मुस्किल छ । सरकारी आरक्षण नयाँ संविधानमा उल्लेख भएअनुरुप गठन भएका सात वटा आयोगमा कतै पनि लागु भएन । समावेसी, महिला, दलित, मुस्लिम, थारु, जनजाति, मधेशी कुनै पनि आयोगमा अपाङ्गता भएका ब्यक्तिले अध्यक्ष या सदस्य हुने अवसर पाएनन् । राजनीतिक क्षेत्रमा सबैभन्दा बढी लागु भएको आरक्षणलाई हेर्ने हो भनें प्रतिनिधिसभादेखि राष्ट्रियसभा हुँदै प्रदेशसभा र स्थानीय तहसम्म ज्यादै कम प्रतिनिधित्व छ ।

अपाङ्गता भएका मानिसहरूको जीवन स्तर उकास्न तथा आत्मसम्मान बढाउनका लागि मुलुकमा दुई वटा कुरा एकैपटक कार्यान्वयनमा ल्याउनु आवश्यक छ- पहिलो, नीति तथा कानूनको कार्यान्वयन र दोश्रो, ब्यवहारमा परिवर्तन । अपाङ्गतामैत्री भौतिक संरचनाहरूको निर्माणसँगै सार्वजनिक यातायात तथा स्थानमा अपाङ्गता भएका ब्यक्तिलाई पहिलो प्राथमिकतामा राख्नका लागि राज्यले उर्दी जारी गर्नुपर्छ । यो पङ्क्तिकार उर्दी शब्दको प्रशंसक होइन तर हाम्रो देशमा कतिपय क्षेत्रमा आक्रामक हस्तक्षेप जरुरी छ । सरकार आफैले बनाएर दराज, कम्प्युटर या वेवसाइटमा थन्काएका नीति र दस्ताबेजहरूलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यस्ता कुरामा सरकारको मात्र नभइ नागरिकको पनि आफ्नै प्रकारको उत्तरदायित्व हुन्छ । अपाङ्गता भएका ब्यक्तिको आत्मसम्मानलाई उच्च राख्न सहयोगी ब्यवहार र सम्मानित दृष्टिकोण राख्नु सबै नागरिकको दायित्व हो ।