कांग्रेसका हरेक तहमा सभापति वा उपसभापति एक महिला हुनुपर्ने डा. संग्रौलाको धारणा

कांग्रेसका हरेक तहमा सभापति वा उपसभापति एक महिला हुनुपर्ने डा. संग्रौलाको धारणा



वडास्तरदेखि नै योग्य नेतृत्व छान्न नेता सिंहको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने धारणा राखेका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले बुधबार काठमाडोंमा आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा नेता सिंहले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएका हुन् । आफू काठमाडौंको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गर्दै उनले नीति निर्माण गर्ने थलोमा महिला सहभागिता बलियो बनाउनुपर्ने तर्क गरे ।

सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए । महिलालाई जति सशक्तिकरण गर्न सक्यो त्यति नै देशको विकासमा सहयोग पुग्ने उनको तर्क थियो ।

केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताइन् भने प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउन महिलाहरु एकजुट भएर लाग्नुपर्ने जिकिर गरिन् । यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपालको महिला आन्दोलनमा स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा. डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने धारणा राखिन् । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले गरिन् ।