एनआरएनए बेल्जियम कोषाध्यक्षमा नेपालको उम्मेदवारी घोषणा

एनआरएनए बेल्जियम कोषाध्यक्षमा नेपालको उम्मेदवारी घोषणा


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी जुलाई २६ मा हुने निर्वाचनमा कोषाध्यक्ष पदका लागि लोकेन्द्र नेपाल (पुष्प नेपाल) ले उम्मेदवारी दिने भएका छन् ।

ताप्लेजुङ जिल्लाको सिकैचामा जन्म भइ सन् २००४ देखि बेल्जियममा स्थाई बसोवास गर्दै आएका नेपालले सफल युवा व्यवसायीको पहिचान बनाएका छन् । उनी बेल्जियमस्थित ‘होटल मालोन एण्ड क्याफे डे ला गार’का मालिक पनि हुन् ।

मृदुभाषी, सरल र मिलनसार स्वभावका नेपालले एनआरएनए बेल्जियमको आर्थिक पक्षलाई बलियो र पारदर्शी बनाउन आफूले उम्मेदवारी दिएको जनाएका छन् ।

उनी भन्छन्– ‘संघको अहिलेको एउटा महत्वपूर्ण आवश्यकता भनेको संघलाई आर्थिक रूपले मजबुत बनाउनु हो । संघ आर्थिक रूपले बलियो भयो भने मात्र बेल्जियममा प्रवासी नेपालीका लागि विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ भने नेपालमा आइपर्ने विभिन्न विपद्हरूमा पनि आवश्यकताअनुसार सहयोग गर्न सकिन्छ ।’ यसतर्फ सोच राखेर पनि आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

अर्को एक प्रसंगमा नेपालले आफू कुनै राजनीतिक दलको उम्मेदवार नभइ बेल्जियममा रहेका आप्रवासी नेपालीहरूको हकहितका लागि साझा पात्रका रूपमा आफूलाई प्रस्तुत गर्न चाहेको बताए ।

नेपालको गैरआवासीय नेपाली संघलाई राजनीतिबाट मुक्त राख्नुपर्ने तर्क उनको छ । यो संस्था विशुद्ध प्रवासी नेपालीहरूको संस्था हो । यसलाई यो वा त्यो दलको भन्दा पनि समग्र प्रवासी नेपालीहरूको संगठन बनाउनु नै आजको आवश्यकता रहेको उनी बताउँछन् ।

आफू झापाली एवं पूर्वेली समाजको सदस्य तथा लुभेन क्षेत्रको संयोजक समेत रहेर सामाजिक क्षेत्रमा हरदम सक्रिय रहँदै आएकोले आगामी दिनमा एनआरएनएबाट समेत अझ बढि क्रियाशील बन्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।

युवा व्यवसायी नेपालले खड्गबहादुर केसीको समुहबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिए तापनि लोकतान्त्रिक समावेसी समुहले अहिलेसम्म सो पदका लागि उम्मेदवारको घोषणा गर्न सकेको छैन ।