- राजन घिमिरे
इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले नेपालमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु नेपाल पठाउनु भएको छ । बिहीबार बिहान ११ः१० बजे नेपाल एअरलाइन्सको चार्टड फ्लाइटबाट उक्त सामग्रीहरु काठमाडौं आइपुगेको हो । उक्त स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुले सहयोगस्वरुप दिएका हुन् ।
राजदूत डा. शाक्यका अनुसार १८ टन जति तौल रहेको उक्त स्वास्थ्य सामग्रीको अनुमानित मूल्य करिव २० करोड रहेको छ । ती सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, मोबाइल कोरोना टेष्टिङ ल्याबका उपकरणहरु, औषधि, पिसिआर तथा एन्टीजेन टेष्टिङ किट, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित विभिन्न सामग्री तथा उपकरणहरु रहेका छन् ।

यसका लागि नेपाली ध्वजाबाहक हवाइजहाज इजरायलमा इतिहासमै पहिलो पटक अवतरण भएको हो । क्याप्टेन विजय लामाको नेतृत्वको टिमले नेपाल एअरलाइन्सको एअरबस ३३२ लाई पहिलो पटक इजराएलको इन्टरनेशनल एअरपोर्टमा अवतरण गराएको हो ।
यसअघि पनि राजदूत शाक्यको पहलमा नेपालका लागि इजरायलका तर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका रहँदै आएको छ ।
‘इजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा इजरायलमा नयाँ सरकार बनेको अवस्था छ, इजरायलमा युद्ध चलिरहेको र अस्थायी युद्धबिराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको डा. शाक्यले बताउनुभयो । ुयो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद भन्न चाहन्छु’, राजदूत शाक्यको भनाइ छ ।
प्रतिक्रिया