माधवले नमान्दा युवा नेताहरूलाई सकस

माधवले नमान्दा युवा नेताहरूलाई सकस



नेकपा एमालेको युवापुस्ताबाट पार्टी एकताको निम्ति भएको जोडदार प्रयास माधवकुमार नेपालका कारण सफल हुन सकेको छैन ।

विगतमा कठोर देखिनुभएका अध्यक्ष केपी शर्मा ओलीले कार्यदलद्वारा प्रस्तुत दशबुँदे सुझाव ग्रहण गर्दै सबैलाई क्षमादान दिने घोषणा गर्नुभएपछि राजनीतिक विवाद समाप्त भएको छ । माधव नेपाल र केपी ओलीबीचको सम्बन्धलाई सामान्य बनाउन सकेमा पार्टी एकता पुनर्स्थापित हुने विश्वास युवा नेताहरूको छ । र, सुरेन्द्र पाण्डे लगायतका नेताहरू दुई नेताबीचको सम्बन्ध सामान्यिकरण गर्न मेहनत पनि गर्दै हुनुहुन्छ । तर केपी ओलीले यस विषयमा खासै चासो नदेखाएको र माधवले केपीलाई भेट्न अप्ठ्यारो मानेको बताइन्छ ।

पदमा रहिरहँदासम्म केपीप्रति माधवको गुनासो रहने र केपी संयमित भएर प्रस्तुत हुनुपर्ने अवस्था थियो भने अब गुनासो गर्ने अवस्थामा केपी पुग्नुभएको छ, जुन गुनासोको जवाफ दिन सक्ने या क्षतिपूर्ति दिलाउन सक्ने स्थितिमा माधव नेपाल हुनुहुन्न । केपीका प्रश्नको सामना गर्न सक्ने स्थितिमा नभएकोले माधव नेपाल केपीसँग भेटेर संवाद गर्न इच्छुक नभएको बताइन्छ । तथापि, युवापुस्ताका नेताहरू संवादको वातावरण बनाउन लागिपरेका छन् ।

शेरबहादुर देउवा माधव खेमाका सांसदलाई समेत मन्त्रिमण्डलमा समावेस गर्न चाहनुहुन्छ । प्रचण्ड पनि माधवका मानिसलाई मन्त्री बनाउने पक्षमा रहनुभएको बुझिन्छ । तर एमालेको आधिकारिक निर्णय नभइकन या माधवले छुट्टै दलको मान्यता नपाएसम्म वर्तमान सरकारमा आफ्ना मानिसलाई सहभागी गराउन नसक्ने अवस्थामा माधव नेपाल रहनुभएको छ । मन्त्रिमण्डलमा भएको सहभागितालाई ‘अदालतबाट वैधता दिलाइने’ आश्वासन माधव नेपाललाई दिइएको त छ, तर माधवपक्षकै युवा नेताहरू त्यसरी मन्त्री बन्न नहुने धारणा राख्दैछन् ।

एक सूत्रबाट प्राप्त जानकारीअनुसार देउवा, माधव, प्रचण्ड र उपेन्द्र यादवबीच आठ जना काङ्ग्रेसले, पाँच माधव नेपालले, ६ माओवादीले र पाँच मन्त्री उपेन्द्र यादवले लिने गरी विश्वासको मत लिनुअघि नै सहमति बनेको थियो । उक्त सहमतिअनुसार अघि बढ्न पाँचपक्षीय गठबन्धनलाई सकस परेको छ ।