निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च गुहार्न किन पुगे महन्थ ?

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च गुहार्न किन पुगे महन्थ ?



जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदातलमा रिट दायर गरेका छन् । शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न अध्यक्ष ठाकुरले माग गरेका छन् ।

उहाँले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारीको मागसमेत गर्नुभएको छ ।

आयोगले यही साउन ११ गते जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।

आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै अध्यक्ष ठाकुरले दायर गरेको रिटमा २०७८ असार १ गते आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने उनको रिट निवेदनमा उल्लेख छ ।

अध्यक्ष ठाकुरका तर्फबाट बारेस लिई प्रदीपकुमार पाठकले सर्वोच्चमा रिट दायर गरेका हुन् । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएर जसपा पार्टी बनेको थियो । नाकटकीय रुपमा विकसित भएको मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले महन्थ ठाकुर तथा उनका पक्षधर मधेसी नेताहरुलाई निकै अप्ठ्यारो मोडमा उभ्याइदिएको छ । राजनीतिक भविष्य जोगाउन अन्य विकल्प नसुझेपछि ठाकुरले अदालतको शरण पर्नुपरेको विश्लेषण राजनीतिक वृत्तमा गरिन थालिएको छ ।