महाविधेशन तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

महाविधेशन तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै



नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि नैनिर्णय गरिसकेको छ ।

यसै क्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित खिर खाने कार्यक्रमबीच उनले १०बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताएका हुन् । एकता गर्ने नाममा अनिश्चिता नराख्ने उनको भनाइ थियो ।

कार्यदलले सहमति गरेको १०बुँदे प्रस्तावलाई कार्यान्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ भन्दै महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गरे र भने- ‘१०बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पु¥याउन नसकिएको हो । विसं २०७५ जेठ २ गते अगाडिको पार्टी विधानलाई सबैले पालना गर्नुपर्दछ ।’

पार्टीको वैधानिकता कायम गर्नका लागि तोकिएको समयमा अधिवेशन सम्पन्न हुने जिकिर गर्दै उनले पार्टी महाविधेशन २०७९ वैशाख १० गतेभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको बताए ।