माधव नेपाललाई एमालेमा स्थान नभएको अध्यक्ष ओलीको उद्घोष

माधव नेपाललाई एमालेमा स्थान नभएको अध्यक्ष ओलीको उद्घोष



खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको तर्क

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहोर्‍याएका हुन् ।

अरु नेताहरू गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने भन्दै उनले अन्यसँग अहिले पनि कुरा भइरहेको जानकारी दिए। अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवासमेत गरे । उनले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिए ।

निर्वाचनमा बहुमत पुर्‍याएर देखाउन नेकपा (एमाले)सामु इतिहासकै चुनौतीपूर्ण घडी खडा भएको र अहिले धेरै फल्नुपर्ने बेलामा हाँगा काटिएको तर्क गरे । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा मुलुकको विकास र समृद्धिमा देखिने गरी काम गरेको दाबी गरे । बाटाघाटा, पुल, पूर्वाधार मात्रै नभई डिजिटल नेपाल निर्माणको आधार तय भइसकेको उनको जिकिर थियो । जमिनको माटोको गुणस्तर कस्तो छ, के–के नवीकरण गर्नुपर्छ, मोबाइलमा हेर्नुस् भन्न सक्ने गरी विकास गरिएको र पूर्वपश्चिम रेल चल्न लागेको, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि देखिने गरी प्रगति भएको अध्यक्ष ओलीले बताए ।

फरक सन्दर्भ जोड्दै अध्यक्ष ओलीले राम नेपाल भूमिमै जन्मिएको हो भनेर तथ्य प्रमाणित गरेको जिकिर गर्दै आगामी वर्षदेखि चितवनको माडीस्थित अयोध्यापुरीमा विश्वभरिका हिन्दू राम जन्मभूमि हेर्न लाइन लागेर आउने विश्वास व्यक्त गरे । उक्त क्षेत्र राम जन्मुभूमि होइन भनेर कुनै शास्त्रले काट्नै नसक्ने दाबी उनले गरे । अहिले आगामी डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गर्दै उनले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गरे ।

पार्टीका खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको भन्दै अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताए ।