मन्त्रीको नाम चयन गर्न माओवादीको बैठक सोमबार बस्ने

मन्त्रीको नाम चयन गर्न माओवादीको बैठक सोमबार बस्ने



साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन


नेकपा (माओवादी केन्द्र)ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ । पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समितिको बैठकले यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनको भनाइ छ ।

यस्तै, माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय गरेको छ ।

यस्तै, गठबन्धनको घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, गठबन्धनमा आवद्ध दलसँग भएको छलफल तथा सरकार विस्तारलगायतका विषयमा जानकारी गराएका थिए ।

माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबीन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए ।

महकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक बेपत्ता हुनु दुःखद रहेको भन्दै माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ ।

माओवादी केन्द्रले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमार्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ । यस्तै, नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पनि छिट्टै आफनो निर्णय दिने तयारी गरेको छ । ‘अब धेरै समय लिनुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ । केही दिनभित्रै स्पष्ट निर्णय आउला र आउनुपर्छ’, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषदमा पार्टीको तर्फबाट पठाउने नेताहरुको बारेमा निर्णय गर्न सोमबार ३ बजे पुनः स्थायी समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।