रामचन्द्र पनि हिन्दूराष्ट्रको पक्षमा !

रामचन्द्र पनि हिन्दूराष्ट्रको पक्षमा !



महाधिवेशनको निकटतासँगै नेपाली काङ्ग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरूलाई प्रभावित गर्ने होडबाजी शुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरूबीच एक प्रकारको प्रतिष्पर्धा प्रारम्भ भएको पाइएको छ ।

काङ्ग्रेसमा हिन्दूराष्ट्र, एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैह्रजातिवादका पक्षधरहरूको बाहुल्य छ र, उक्त मत आफूतिर आकर्षित गर्ने प्रयास काङ्ग्रेसका नेताहरूले गरिरहेका छन् । बन्द कोठाहरूमा काङ्ग्रेसका नेताहरू आफू हिन्दू धर्मावलम्बी भएको बताएर मूल कुरा छल्न खोज्छन् । अर्थात्, आफू हिन्दू धर्मावलम्बी भएको बताएर हिन्दूराष्ट्रको पक्षमा सकारात्मक रहेको सङ्केत दिँदै भुलभुलैयामा राख्ने प्रयास काङ्ग्रेसका नेताहरूबाट भइरहेको छ ।

अढाइ वर्षअघि काङ्ग्रेस महासमितिको बैठक हुँदा सात सय पैंतिस जना महासमिति सदस्यहरूले हिन्दूराष्ट्रका पक्षमा काङ्ग्रेस उभिन माग गर्दै दिएको निवेदनलाई काङ्ग्रेसका उच्च नेताहरूले पूरै उपेक्षा गरेका थिए । शेरबहादुर देउवादेखि डा. शशाङ्क र डा. शेखर कोइरालासम्मले उक्त प्रस्तावमा छलफल गराउन आवश्यक ठानेनन् ।

विमलेन्द्र निधि र रामचन्द्र पौडेललगायतले उक्त निवेदनमाथि नकारात्मक टिप्पणी गर्दै धर्मको कुरा टुङ्गिइसकेकोले अब यही विषयलाई लिएर विवाद पैदा गर्न नहुने जवाफ दिएका थिए । तर अहिले पार्टीको चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा हिन्दूराष्ट्र पक्षधरहरूको मत आकर्षित गर्न काङ्ग्रेसका केही नेताहरू हिन्दूत्वको पक्षमा भएको अभिनय गर्न थालेका छन् ।

काङ्ग्रेसमा हिन्दूराष्ट्रका सबैभन्दा विरोधि नेताहरूमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्ण सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ । तर पछिल्लो समयमा विमलेन्द्र र रामचन्द्रले आफू हिन्दूराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखि नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् । कसैले हिन्दूराष्ट्रका कुरा गर्नेबित्तिकै जाइलाग्ने रामचन्द्र र विमलेन्द्रले भारतका चर्चित साधुसन्त, आरएसएस तथा भाजपाका नेताहरूसम्म आफू हिन्दूराष्ट्रको पक्षमा भएको सन्देश आ-आफ्नै प्रकारले दिइरहेका छन् ।

रामचन्द्र पौडेलले शङ्कराचार्यसम्मलाई आफू हिन्दूराष्ट्रको पक्षमा रहेको भन्दै भुलभुलैयामा राखेको पाइएको छ । पौडेलले जगन्नाथपुरीका शङ्कराचार्यलाई आफू हिन्दूराष्ट्रको पक्षमा रहेको सन्देश दिनुभएको जानकारी प्राप्त भएको छ । त्यसैले यतिबेला भारतीय सन्त-महन्थहरू काङ्ग्रेसको आगामी महाधिवेशनमा पौडेललाई सभापति पदमा विजयी गराएर हिन्दूराष्ट्रको पक्षमा वातावरण बनाउन सकिने विश्वासमा परेका छन् । विमलेन्द्र निधिले आफ्नो बैठक कक्षलाई पूरा ‘साधु रङ्गमा रङ्गाउँदै भित्तामा देवीदेवताका तस्बिर झुण्ड्याएर’ आफू हिन्दूत्वको पक्षमा रहेको भ्रम फैलाइरहेका छन् । कोही हिन्दू धर्मावलम्बी हुनु, हिन्दूत्वको पक्षमा रहनु र हिन्दूराष्ट्रको हिमायती हुनुबीच ठूलो अन्तर भएको जो-कोहीले बुझ्न सक्छन् । तथापि पौडेल र निधिलगायतका केही नेताहरूले हिन्दू धर्मको पक्षमा रहेको देखाउँदै हिन्दूराष्ट्र पक्षधरहरूको मन जित्ने र मत लिने प्रयास गरिरहेका छन् ।

भारतका सन्त-महन्थ र नेपाललाई हिन्दूराष्ट्रका पक्षमा देख्न चाहने नेताहरूलाई यहाँका नेताहरूले पटक-पटक झुक्याउँदै आएका छन् । प्रचण्ड र शेरबहादुर देउवाले पनि कुनै बेला नेपाललाई हिन्दूराष्ट्र बनाइने विश्वास भारतीय नेताहरूलाई दिलाएका थिए । अहिले नेपाली काङ्ग्रेसका मतदाता र भारतीय संस्थापनलाई झुक्याउने प्रयास रामचन्द्र पौडेलबाट भइरहेको छ ।

काङ्ग्रेसमा हिन्दूराष्ट्रका पक्षमा केही युवा नेताहरू भए पनि शङ्कर भण्डारी सबैभन्दा अग्रपङ्क्तिमा रहेका छन् । डा. नारायण खड्का, एनपी सावद र चन्द्र भण्डारीलाई पनि हिन्दूराष्ट्र पक्षधर नेताका रूपमा लिइन्छ । महामन्त्री पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाहरूले अहिलेसम्म स्थिति स्पष्ट पारेका छैनन् । रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला, गगन थापा, विश्वप्रकाश शर्मा र शेरबहादुर देउवाले कुनै पनि हातलमा हिन्दूराष्ट्रको पक्षमा पहल नगर्ने, बरु त्यसको विपक्षमा उभिने विश्वास गरिएको छ ।