एनआरएनए आइसीसीको सचिव पदमा पत्रकार पुरुषोत्तम ढकाल उम्मेदवार

एनआरएनए आइसीसीको सचिव पदमा पत्रकार पुरुषोत्तम ढकाल उम्मेदवार



गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदका लागि अमेरिकानिवासी पत्रकार पुरुषोत्तम ढकालकोले उम्मेदवारी घोषणा गरेका छन् । आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा हुने निर्वाचनले चयन गर्ने २०२१-२०२३ कार्यकालको लागि पत्रकार एवं अभियन्ता ढकालले उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघ स्थापना कालदेखि यस अभियानमा संलग्न रहँदै नेपाली डाएसपोरालाई संगठित गर्ने अभियानमा क्रियाशील संचारकर्मी ढकाल संघको विभिन्न कार्यदलमा रहेर काम गर्दै आएका छन् ।

संघको मानार्थ परिषद्को सदस्यसमेत रहेका पत्रकार ढकालले नेपाली नागरिकता निरन्तरता र युरोप, अमेरिका र अष्ट्रेलियाको नेपाली समुदालाई त्यहाँको मुलधारको राजनीतिमा डोऱ्याउने र सामाजिकीकरण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण डायस्पोराका नेपालीमाझ चर्चित अनुहारका रुपमा स्थापित छन् ।

झन्डै दुई दशक टेलिभिजन पत्रकारिता गरेका ढकाल अमेरिकी मुलधारको राजनीतिमा पनि सक्रिय र आशालाग्दो अनुहार हुन् । कोभिड संक्रमणको महामारीपछि अमेरिकामा रहेको नेपाली समुदायलाई आवश्यक सहयोग जुटाउन उनले पुऱ्याएको योगदान र सयौँ विद्यार्थीलाई गरेको उद्धारका कारण पनि उनको उम्मेदवारीप्रति सबैको चासो रहेको छ ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्वअध्यक्ष जीवा लामिछाने र पुर्वसंरक्षक रामप्रताप थापाको निकट रहेर काम गरेका पत्रकार ढकालले नेपाली नागरिकता निरन्तरता र संघको संरचनात्मक सुधारको लागि उठाएका मुद्धाहरुले उनी बेलाबखत विवाद र चर्चामा आउने गरेका छन् ।

नेपाली नागरिकता निरन्तरता र युरोप, अमेरिका र अष्ट्रेलियाको नेपाली समुदालई त्यहाँको मुलधारको राजनीतिमा डोऱ्याउने र सामाजिकीकरण गर्ने उनका सयौँ लेख रचना प्रकाशित छन् । डायस्पोराको साहित्यमा पनि परिचित अनुहार पत्रकार ढकालको बोर्डर लेस ड्रिम र भगवानलाई प्रश्न दुई कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ ।